काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले क्षतिग्रस्त बनाएको पुल तथा सडक पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइएको छ ।
सडक बोर्ड नेपालसहित सम्बन्धित निकायले धादिङ र गोरखाको सिमानामा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका र आरुघाट गाउँपालिकालाई जोड्ने बुढीगण्डकी नदीमाथिको पुलमा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरी वस्तुस्थिति बुझेका छन् ।
असोज २५ गते आएको बाढीका कारण पुलमा ठूलो क्षति पुगेको थियो । पुलमा क्षति पुगेपछि स्थानीय नागरिकको आवागमन, दैनिक जनजीवन तथा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ ।
विशेषगरी चाडपर्वको समयमा नागरिकको आवागमनलाई सहज बनाउनु तथा अवरुद्ध सडक र पुलहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउनु अहिलेको प्रमुख प्राथमिकता रहेको सडक बोर्ड नेपालका कार्यकारी सदस्य अरुणकुमार श्रेष्ठले जानकारी दिए ।
सडक बोर्ड नेपालको प्रतिनिधित्व गर्दै तथा नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी वास्तविक अवस्था बुझ्न र पुनर्निर्माण कार्यलाई तीव्रता दिन आवश्यक पहलका लागि आफूहरू प्रभावित क्षेत्रमा रहेको श्रेष्ठले बताए ।
सडक तथा पुल पुनर्निर्माणका लागि हेटौँडाबाट तीनवटा ट्रेलरमार्फत आवश्यक क्रेन, स्काभेटर, टिपरलगायत निर्माण उपकरण तथा साधन परिचालन गर्ने तयारी गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार तथा प्राविधिक टोलीको सक्रिय सहभागितामा आवश्यक काम अगाडि बढिरहेको छ । बोर्डका सदस्य श्रेष्ठले भने, “क्षतिग्रस्त पुलको पुनर्निर्माण तथा आवागमनलाई सहज बनाउने दिशामा आवश्यक पहल भइरहेको छ। सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय कायम गर्दै उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउनु अहिलेको आवश्यकता हो।”
पुलसँगै जोडिएका क्षतिग्रस्त सडकको मर्मतको तयारी पनि भइरहेको छ। धादिङतर्फ पुलबाट माथिल्लो क्षेत्रमा रहेका १२ वटा वडालाई जोड्ने नदीकिनारको सडकमा समेत बाढीका कारण विभिन्न स्थानमा क्षति पुगेको छ। उक्त सडकको करिब साढे दुई सय मिटर खण्डका विभिन्न भागमा क्षति भएको जानकारी प्राप्त भएको सडक बोर्डका अर्का सदस्य खड्गसिंह विष्टले बताए।
उनले भने, “पुलको पुनर्निर्माणसँगै उक्त सडक खण्डको मर्मत तथा आवश्यक ट्र्याक निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समन्वय भइरहेको छ। थप स्काभेटर परिचालन गरी सम्भव भएसम्म आगामी एकदेखि दुई दिनभित्र उक्त सडकको ट्र्याक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ पहल भइरहेको छ।”
पुल र सडक दुवैलाई पुनः जोडेर दुवैतर्फको आवागमन सहज बनाउनु तथा स्थानीय नागरिकलाई दैनिक आवतजावत, अत्यावश्यक सेवा र अन्य गतिविधिमा परेको कठिनाइ कम गर्न सबै पक्षसँग समन्वय भइरहेको बोर्डका सदस्य श्रेष्ठले जानकारी दिए।
उनले भने, “प्राकृतिक विपत्तिका कारण देशका विभिन्न स्थानमा सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यस्तो कठिन परिस्थितिमा पनि आम नागरिकले धैर्यपूर्वक परिस्थितिको सामना गर्दै सकारात्मक भूमिका निर्वाह गरिरहनुभएको छ। यसका लागि म सम्पूर्ण नागरिकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
बुढीगण्डकीले क्षति पु¥याएका क्षेत्रमा सडक विभाग, सडक बोर्ड नेपाल, स्थानीय सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिकसहितको टोली परिचालित छ। बोर्डले नौबिसे–मलेखु सडकखण्ड तथा वैकल्पिक मार्गका खाल्डाखुल्डी पुरेर दशैँमा आवागमन सहज बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सडक बोर्डका कार्यकारी सदस्य अरुणकुमार श्रेष्ठ, सदस्य खड्गसिंह विष्ट तथा नेपाल उद्योग वाणिज्य महासङ्घको सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप व्यवस्थापन समितिका सहसभापति विश्वनाथ खनालसहितको टोली बाढी प्रभावित क्षेत्रमा खटिएको छ। महासङ्घले बाढी प्रभावित क्षेत्रमा एक ट्रक राहत सामग्री पनि पठाएको सहसभापति खनालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्