काठमाडाैँ । जापानका लागि नेपालका प्रस्तावित राजदुत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पिआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गरेका छन् ।
बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा थापाले आफूले जापानको पिआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अगाडि बढेको दाबी गरेका हुन् ।
संसदीय समितिको बैठकमा थापाले जापानमा आफू र आफ्नो परिवारको हैसियतबारे उठाइएका प्रश्नहरूको विस्तृत जवाफ दिए।
उनले जापानस्थित नेपाली राजदुतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफ्नो पिआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको स्पष्ट पारे ।
आफ्नो पारिवारिक अवस्थाबारे बोल्दै उहाँले आफू र परिवार कानूनी र भावनात्मक रूपमा नेपालसँगै जोडिएको दाबी गरे ।
उनले भने, “मेरो श्रीमती र छोराछोरीको त्यहाँको बसाइ भिसाको एक प्रकार मात्र हो, उनीहरू नेपाली नागरिक नै हुन् । म कुनैपनि स्वार्थ बाझिने काम गर्दिनँ । मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने हो ।”
जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठाइएका प्रश्नमा उनले सो घर कानूनी रूपमा श्रीमतीको नाममा रहेको र आफ्नो कुनै व्यवसायिक स्वार्थ नरहेको स्पष्ट पारे ।
थापाले दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्न आफ्नो लामो अनुभव र जापानसँगको पहुँच फलदायी हुने विश्वास व्यक्त गरे।
उनले कुटनीतिक मर्यादाभित्र रहेर आफूले जापानमा रहँदा पनि नेपालको हितमा निरन्तर काम गरेको उल्लेख गर्दै यदि अनुमोदन भएमा राष्ट्रको सर्वोपरी हितलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस्