अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएमा अमेरिकी सेनाले इरानका ऊर्जा पूर्वाधार र आणविक केन्द्रहरूमा आक्रमण गर्न नयाँ सैन्य योजना तयार गरेको छ ।

ती योजनामा विश्वकै शक्तिशाली गैर–आणविक बमहरूमध्ये एक मानिने ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने विकल्पसमेत समावेश गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

‘मदर अफ अल बम्स’ इरानविरुद्ध प्रयोग भएमा यो युद्धमा ठुलो सैन्य शक्तिको प्रयोगका रूपमा हेरिनेछ । यद्यपि, अमेरिकी सैन्य वृत्तभित्रै यो बमले ट्रम्प प्रशासनका रणनीतिक उद्देश्य हासिल गर्न वा युद्धको परिणाम निर्णायक रूपमा परिवर्तन गर्न सक्छ कि सक्दैन भन्नेबारे मतभेद रहेको बताइएको छ ।

छ महिनाभन्दा बढी समयदेखि जारी हवाई आक्रमणपछि पनि अमेरिका र इरानबिच वार्तामार्फत समाधानको सङ्केत नदेखिएको अवस्थामा ट्रम्पमाथि युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ । आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन नेताहरू सम्भावित राजनीतिक क्षतिको चिन्तामा रहेको जनाइएको छ ।

सिएनएनका अनुसार ट्रम्प प्रशासनभित्र युद्धलाई ‘निर्णायक रूपमा अन्त्य भएको’ सन्देश दिने विकल्पबारे लामो समयदेखि छलफल भइरहेको छ । केही अधिकारीहरूले युद्ध लगभग जितिएको दाबी गरे पनि ट्रम्पले भने अझै विजय घोषणा नगरी इरानमा ‘अधूरो काम’ बाँकी रहेको बताउँदै आएका छन् ।

पछिल्ला साताहरूमा ह्वाइट हाउसमा इरानसम्बन्धी विभिन्न रणनीतिमाथि बैठकहरू भएका छन् । स्रोतहरूका अनुसार ट्रम्पले अमेरिकी सेनालाई इरानका ऊर्जा संरचनाहरू लक्षित थप आक्रमण योजना तयार गर्न निर्देशन दिएका छन्, जसमा ‘ ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने सम्भावनासमेत राखिएको छ ।

योजना अनुसार अमेरिकाले मध्यपूर्वस्थित आफ्नो सैन्य जिम्मेवारी क्षेत्रबाट सेना फिर्ता बोलाउनुअघि ठुलो आक्रमण गर्ने, त्यसपछि विजय घोषणा गर्दै छिट्टै फौज फिर्ता गर्ने विकल्पसमेत छलफलमा रहेको बताइएको सिएनएनको दाबी छ ।

अर्को स्रोतका अनुसार इरानको आणविक कार्यक्रमसँग सम्बन्धित सामग्री भण्डारण गरिएको आशङ्का गरिएको ‘पिकएक्स माउन्टेन’ नामक स्थललाई लक्षित सम्भावित आक्रमण योजनामा पनि ‘सबै बमहरूको आमा’ प्रयोग गर्ने व्यवस्था राखिएको छ ।

ट्रम्पले पछिल्ला महिनाहरूमा उक्त स्थलमाथि आक्रमण गर्ने चेतावनी पटकपटक दिँदै आएका छन् र इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाओस् भन्ने आफ्नो मुख्य उद्देश्य रहेको दोहोर्‍याउँदै आएका छन् ।