काठमाडौँ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र खारेज भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागको नयाँ स्वीकृत संगठन संरचनाबमोजिम साविकको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र खारेज भई जीवनाशक विषादीको नियमन तथा व्यवस्थापनसम्बन्धी कामहरु राष्ट्रिय बाली संरक्षण तथा विषादी नियमन केन्द्रबाट हुने व्यवस्था गरिएको हो।
अब राष्ट्रिय बाली संरक्षण तथा विषादी नियमन केन्द्रले नै जीवनाशक विषादीको पञ्जीकरणलगायत नियमन तथा व्यवस्थापनसम्बन्धी कामहरू गर्ने भएको छ।
बिरुवा तथा बिरुवाजन्य उपजको अन्तर्राष्ट्रिय व्यापारको क्रममा बिरुवा स्वस्थतामा पर्न जाने संभावित जोखिमलाइ नियमन गर्न र बिरुवा तथा बिरुवाजन्य उपजहरुको उत्पादन तथा उत्पादनोपरान्त लाग्ने रोग, कीरा, झारपात, चरा, मुसा आदिको क्षति नियन्त्रणका लागि आवश्यक विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापन सम्बन्धि कार्यहरु गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको स्थापना भएको थियो।
केन्द्रिय स्तरमा एक प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र यसको मातहतमा १५ वटा क्वारेन्टाइन कार्यालयहरु स्थापना गरेकोमा प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत राष्ट्रिय बिरुवा संरक्षण संगठन शाखा, प्लाण्ट क्वारेन्टाइन नियमन तथा अनुगमन शाखा, विषादी पंजीकरण तथा व्यवस्थापन शाखा, शत्रुजीव जोखिम विश्लेषण शाखा र सर्भे एण्ड सर्भेलेन्स शाखा थिए ।


प्रतिक्रिया दिनुहोस्