भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने प्रक्रियालाई तिब्रता दिँदैछौँः मन्त्री रावल


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले दसैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तिब्रता दिने बताएकी छिन् । 

सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउँदै दसैँ तिहार लगत्तै तीव्रता दिइने बताएकी हुन् ।

उनले दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानूनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको जानकारी दिइन् । मन्त्री रावलकाअनुसार सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका वकचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ ।

लामो समयदेखि वचत फिर्ता नपाएर पीडामा रहेका नागरिकलाई जतिसक्दो छिटो रकम फिर्ता गर्ने गरी कामलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताइन् । 

उनले भूमिहीन नागरिकको समस्या समाधानमा वाधक बनेका कानूनी जटिलता अध्यादेशमार्फत हटाइएको उल्लेख गरिन् । यसअघि कानुनी व्यवस्थाका कारण भूमिहीन नागरिक बसेकै स्थानमा उनीहरूलाई व्यवस्थापन गर्न कठिनाइ रहेको भन्दै उनले आवश्यक नीतिगत सुधार गरेर अघि बढिएको बताएकी हुन् । 

भूमिहीन नागरिकमा आफूहरू बसिरहेको स्थानबाट हटाइने वा डोजर चलाइने हो कि भन्ने त्रास रहेको उल्लेख गर्दै मन्त्री रावलले सरकारले गरिरहेको काम र आगामी योजनाबारे उनीहरूलाई जानकारी गराउन आवश्यक रहेको बताइन् । त्यसैक्रममा आफू चितवन आइपुगेको उनको भनाइ छ ।

मन्त्री रावलले सरकार जनताका समस्या सुन्न र समाधानका लागि पहल गर्न जनताकै बीचमा पुग्नुपर्ने मान्यताअनुसार आफू चितवन आएको उल्लेख गरिन् ।

उनले भूमिहीन नागरिक र सहकारीपीडित वचतकर्तासँग भेटेर उनीहरूका गुनासा, सुझाव तथा समस्या समाधानको अवस्थाबारे जानकारी लिने बताइन् ।

मन्त्री रावलले चितवनमा पुगेर सहकारी पीडित, भूमिहीनहरुसँग समेत छलफल गरेकी थिइन् ।