भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीका बीच भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका क्रममा उनले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ।

भेटमा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र बहुआयामिक साझेदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं आएका मिस्रीले बुधबारै आफ्ना नेपाली समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उनी बिहीबार भारत फर्किनेछन्।