मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने भएका छन्।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवको भनाई छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्तारूढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।