दुर्घटना बढेपछि काठमाडौँ–हेटौँडा रुटमा रात्रीकालीन सवारी सञ्चालनमा कडाइ


काठमाडौँ । काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा नयाँ समयसीमा लागू गरेको छ ।

प्रशासनले यात्रुको सुरक्षा, चालकको थकान व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बेलुका ८ बजेपछि उक्त रुटमा सार्वजनिक तथा यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाएको हो ।

प्रशासनका अनुसार साँघुरा र जोखिमपूर्ण सडक, तीव्र गति, चालकको लापरबाही, रातिको समयमा कम दृश्यता, जिर्ण तथा प्राविधिक अवस्था कमजोर रहेका सवारीसाधनको प्रयोग र बढ्दो प्रतिस्पर्धाले दुर्घटनाको जोखिम बढाएको छ । विशेषगरी एकै दिनमा धेरै ट्रिप पूरा गर्ने दबाब, निरन्तरको तनाव तथा पर्याप्त विश्राम अभावका कारण चालकमा थकान बढ्ने र त्यसले गम्भीर दुर्घटनाको अवस्था निम्त्याउने गरेको निष्कर्ष निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउने घटनाले समेत सर्वसाधारणको जिउधन थप जोखिममा परेको उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, “मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको कारणबाट समेत सर्वसाधारणको जिउ ज्यान जोखिममा पर्ने गरेको भन्ने गुनासो प्राप्त भएको छ।”

नयाँ व्यवस्थाअनुसार काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्ममा प्रहरी चेकपोस्ट पार गरिसकेको हुनुपर्नेछ । त्यस्तै बिहान ५ बजेदेखि मात्र उक्त रुटमा सार्वजनिक तथा भाडाका सवारी सञ्चालन गर्न पाइनेछ । प्रशासनले यात्रुवाहक सवारीको प्राविधिक अवस्था (कन्डिसन) पूर्ण रूपमा परीक्षण तथा चेकजाँच गरेर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला सुरक्षा समिति काठमाडौंले उक्त निर्णय गरेको जनाएको छ। सूचनामा उल्लेख छ, “सर्वसाधारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रातिको समयमा यात्रुवाहक भाडाका एवं सार्वजनिक प्रकृतिका सवारीसाधन सञ्चालन सम्बन्धमा समय तालिका निर्धारण गरिएको हो।”

यससँगै काठमाडौं जिल्लाभित्र पर्ने उक्त सडकखण्डमा ट्राफिक प्रहरीसहितका सुरक्षा निकायले प्रत्येक यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। प्रशासनले नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।

दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले लागू गरिएको यो निर्णयले विशेषगरी रात्रीकालीन यात्रालाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हिजोमात्रै भएको दुर्घटनामा १४ जनाले ज्यान गुमाएपछि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालनमा कडाइ गरेको हो ।