४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो



काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नोक्सानी १२ करोड ८० लाख २० हजार रुपैयाँ रहेको थियो । नाफा कमाएर आकर्षक प्रतिफल दिने प्रक्षेपणसहित महँगो मूल्यमा सेयर बेचेको कम्पनी निरन्तर घाटामा जाँदा सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा परेको छ ।

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको मुख्य व्यवसाय र आम्दानी दुवैमा सङ्कुचन आएको छ । अघिल्लो वर्षको असोज मसान्तमा ९० करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी चालु वर्ष घटेर ८७ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । बिक्री लागत बढेका कारण कम्पनीको कुल नाफा २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १४ करोड ७६ लाख रुपैयाँमा झरेको छ ।

यद्यपि, ब्याजदरमा आएको गिरावटसँगै कम्पनीको वित्तीय खर्च भने अघिल्लो वर्षको १७ करोड ६३ लाख रुपैयाँबाट घटेर १३ करोड ३३ लाख रुपैयाँमा कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ र सञ्चित नाफामा ४६ करोड ४ लाख रुपैयाँ रहेको छ । नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३.२१ रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रु. १०० अङ्कित मूल्यमा रु. ३३५ प्रिमियम जोडेर प्रतिकित्ता रु. ४३५ मा आइपिओ निष्कासन गरेको थियो । त्यतिबेला कम्पनीको कुल सेयर सङ्ख्या करिब ३ करोड ९७ लाख कित्ता, प्रतिसेयर नेटवर्थ रु. २६९.५६ र प्रतिसेयर आम्दानी रु. १.३४ रहेको थियो ।

आइपिओपछि कम्पनीले एक वर्ष १५ प्रतिशत र अर्को वर्ष १० प्रतिशत बोनस सेयर वितरण गरे पनि हाल कुल सेयर सङ्ख्या करिब ५ करोड २ लाख कित्ता पुग्दा प्रतिसेयर नेटवर्थ घटेर रु. १६२.०७ मा झरेको छ ।

वित्तीय विवरण खस्कँदै गएपछि पुँजीबजारमा प्रिमियम मूल्य निर्धारणको मापदण्ड र नियामक निकायको भूमिकामाथि बहस सुरु भएको छ ।

कम्पनी व्यवस्थापनले भने आर्थिक मन्दीका कारण विकास निर्माणका कार्य सुस्त हुँदा सिमेन्टको माग घटेको र तीव्र प्रतिस्पर्धाका कारण बजार मूल्यमा दबाब परेको जनाएको छ । साथै, बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुग्दा ढुवानी भाडा बढेको र निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसक्दा वित्तीय विवरणमा असर परेको कम्पनीको दाबी छ ।