अस्ट्रेलियाका व्यापार तथा पर्यटनमन्त्री डन फरेलले चीनसँगको द्विपक्षीय व्यापार र आर्थिक सम्बन्ध थप विस्तार गर्न सकिने बताएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग हालैको अन्तर्वार्तामा मन्त्री फरेलले चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै दुई देशबीच रचनात्मक र स्थिर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका हुन् ।
उनले विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितताबीच अस्ट्रेलियाले एशिया प्रशान्त क्षेत्रका साझेदार मुलुकहरूसँग सहकार्य बढाइरहेको बताए । अस्ट्रेलियाले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्दै उच्चस्तरको व्यापार कायम राख्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
फरेलले चीनसँगको व्यापारलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै दुईतर्फी व्यापार विस्तारका लागि थप सम्भावनाहरू रहेको बताए। उनले अस्ट्रेलिया र चीनबिचको विद्यमान बलियो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए ।
उनकाअनुसार एसिया प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्य विस्तारका लागि दुवै देशबिच थप अवसरहरू छन् । साथै, चीनसँगको व्यापारलाई अझ व्यवस्थित, प्रविधिमैत्री र वातावरणअनुकूल बनाउन सकिने उनले बताए ।
मन्त्री फरेलले अस्ट्रेलियाले आफ्नो व्यापारिक सम्बन्ध विविधीकरण गर्ने नीति अघि बढाएको पनि जानकारी दिए । यसअन्तर्गत क्षेत्रीय मुलुकहरूका साथै विश्वका अन्य देशहरूसँग पनि व्यापारिक सम्बन्ध विस्तार गर्ने अस्ट्रेलियाको लक्ष्य रहेको उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्