काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा उद्योगी राजबहादुर शाहलाई सम्मानित गरेको छ ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विभागले शाहलाई ‘उत्कृष्ट करदाता’ को सम्मान प्रदान गरेका हुन् ।
जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक रहेका राजबहादुर गोर्खा ब्रुअरी, हिमालयन डिस्टिलरी, एसियन डिस्टिलरी, विजय डिस्टिलरी र राज ब्रुअरी लगायतका ठुला मदिरा उद्योगका मुख्य लगानीकर्ता हुन् ।
एकातिर राज्यबाट उत्कृष्ट करदाताको सम्मान पाएका शाहविरुद्ध १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुर (सेयर बजार घोटाला) को गम्भीर फौजदारी मुद्दा अदालतमा विचाराधीन छ ।
विशेष सरकारी वकिल कार्यालयले शाहविरुद्ध १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ ४० पैसा बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्सको संस्थागत कोषको रकम व्यक्तिगत स्वार्थमा प्रयोग गरी सेयर मूल्यमा कृत्रिम प्रभाव पारेको तथा गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाएको अभियोग उनीमाथि छ।
यसका साथै नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनले उल्लेख गरेअनुसार आपसी मिलोमतोमा ‘सर्कुलर ट्रेडिङ’ गरी नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य अस्वाभाविक बढाएको, उधारोमा १० लाख ५१ हजार २०४ कित्ता सेयर किनेर भृकुटी स्टक ब्रोकिङलाई करिब ८९ करोड ७० लाख रुपैयाँ भुक्तानी नदिएको आरोपपत्रमा उल्लेख छ। धितोपत्र ऐन, २०६३ विपरीतको उक्त कसुरमा उनीमाथि २ वर्षसम्म कैद र जरिवानाको मागदाबी गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले गत साउन २९ गते थुनछेक बहसपछि शाहलाई १ करोड ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । हाल उनी धरौटीमा रिहा भई अदालतको तारेख धाइरहेका छन् ।
हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्सको रकम अपचलन गरेको आरोपमा शाहसहित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत ३९ जना व्यक्ति तथा संस्थाविरुद्ध कुल २२ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सामूहिक बिगो दाबीसहित मुद्दा चलिरहेको छ । भट्ट र अग्रवाल हाल पुर्पक्षका लागि थुनामा छन्।
अदालतबाट अन्तिम फैसला नआउन्जेल अभियुक्त निर्दोष मानिने कानुनी सिद्धान्त र कर प्रशासनको छुट्टै मापदण्डका कारण शाहले उत्कृष्ट करदाताको सम्मान गरेको आन्तरिक राजस्व विभागको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्