पार्टीपंक्तिलाई ओलीको निर्देशन, ‘आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ’


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । 

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन् ।

उनले आन्दोलन सधैं लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल शुरु गर्नुपर्ने अवस्था आउनसक्ने समेत बताए । अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने उल्लेख गरे ।

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे । उनले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा एमाले भएको जिकिर समेत गरे ।

उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको भन्दै यस्तो अवस्थामा नेकपा (एमाले) वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताए । 

केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै नेकपा (एमाले) पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्ने उनकाे भनाइ छ ।