काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ ।
तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्