साँवा जोगाउनै मुस्किल एनआइएमबिका म्युचुअल फन्ड,चारमध्ये तीनको न्याभ १० रुपैयाँभन्दा तल


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरपछि एउटै व्यवस्थापनअन्तर्गत आएका एनआइएमबि एस क्यापिटलका चार बन्दमुखी योजना लगानीकर्ताको साँवा जोगाउन सङ्घर्षरत देखिएका छन् ।

बजारमा लगानीकर्ताको सम्पत्ति व्यवस्थापन गर्ने जिम्मेवारी लिएका एनआईएमबि एस क्यापिटलका चारमध्ये तीन म्युचुअल फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) १० रुपैयाँको आधार मूल्यभन्दा तल झरेको छ । यसले एनआइएमबि एस क्यापिटलको लगानी रणनीति, जोखिम व्यवस्थापन र व्यावसायिक क्षमतामा प्रश्न उठेको छ ।

असोज २०८३ मसान्तसम्मको वित्तीय विवरणअनुसार एनआइएमबि एस क्यापिटलका चार बन्दमुखी योजनामध्ये एनआइबिएल समृद्धि फन्ड–२, मेगा म्युचुअल फन्ड–१ र एनआइबिएल स्टेबल फन्डको न्याभ १० रुपैयाँभन्दा तल छ । चारवटा योजनामध्ये एनआइबिएल ग्रोथ फन्डले मात्र १० रुपैयाँको आधार मूल्यभन्दा माथि रहँदै आफ्नो मूल्य कायम राख्न सकेको छ ।

यी चारवटा फन्डको अवस्था हेर्दा समस्या कुनै एउटा योजनामा मात्र सीमित देखिँदैन । फरकफरक समयमा स्थापना भएका र फरक लगानी रणनीति अपनाउने भनिएका योजनाहरूको नतिजा पनि उस्तै कमजोर देखिनुले एनआईएमबि एस क्यापिटलको समग्र फन्ड व्यवस्थापन क्षमतामा प्रश्न उठेको छ ।

ग्रोथ फन्डकै भरमा क्यापिटलको साख
एनआइएमबि एस क्यापिटलका चार बन्दमुखी योजनामध्ये एनआईबिएल ग्रोथ फन्ड तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिन्छ । असोज मसान्तमा एनआईबिएल ग्रोथ फन्डको न्याभ १० रुपैयाँ ५ पैसा छ । गत आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको एनआईबिएल ग्रोथ फन्डले आधार मूल्यभन्दा माथि आफ्नो सम्पत्ति मूल्य कायम राखेको छ ।

तर, न्याभ सकारात्मक हुनु मात्रै लगानीकर्ताका लागि पर्याप्त प्रतिफलको आधार होइन । एनआइबिएल ग्रोथ फन्डको इकाइ ९ रुपैयाँ १८ पैसामा दोस्रो बजारमा कारोबार भइरहेको छ । अर्थात् प्रतिइकाइ वास्तविक सम्पत्ति मूल्यभन्दा करिब १० प्रतिशत कम मूल्यमा लगानीकर्ताले इकाइ खरिद‑बिक्री गरिरहेका छन् ।

यसले एनआइबिएल ग्रोथ फन्डको आन्तरिक सम्पत्ति मूल्य र दोस्रो बजारमा लगानीकर्ताले निर्धारण गरेको मूल्यबिचको अन्तर देखाउँछ ।

समृद्धि फन्ड–२
एनआइबिएल समृद्धि फन्ड–२ को अवस्था तुलनात्मक रूपमा कमजोर देखिन्छ । १ अर्ब ५० करोड रुपैयाँ कोष आकार रहेको एनआइबिएल समृद्धि फन्ड–२को असोज मसान्तसम्मको न्याभ ९ रुपैयाँ ८५ पैसा छ । पछिल्लो साप्ताहिक विवरणमा एनआइबिएल समृद्धि फन्ड–२को न्याभ अझ घटेर ९ रुपैयाँ ६७ पैसामा सीमित भएको छ ।

पछिल्लो एक वर्षमा समग्र नेप्से परिसूचक करिब ४ प्रतिशतले बढ्दा एनआइबिएल समृद्धि फन्ड–२को न्याभमा करिब ३.४ प्रतिशत मात्रै वृद्धि भएको विवरणले देखाउँछ । एनआइबिएल समृद्धि फन्ड–२को लगानी रणनीति अपेक्षाअनुरूप प्रभावकारी हुन नसकेको सङ्केत गर्छ ।

बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएको फन्डले बजारको सामान्य वृद्धिबाट समेत पर्याप्त लाभ लिन नसक्दा एनआईबिएल समृद्धि फन्ड–२को व्यवस्थापन क्षमतामा प्रश्न उठेको छ । एनआइबिएल समृद्धि फन्ड–२ सञ्चालनमा रहेका ३७ बन्दमुखी म्युचुअल फन्डमध्येको ३०औँ स्थानमा रहेको छ ।

एनआइबिएल समृद्धि फन्ड–२को इकाइ ८ रुपैयाँ ९८ पैसामा दोस्रो बजारमा कारोबार भइरहेको छ । एनआइबिएल समृद्धि फन्ड–२को असोज मसान्तको न्याभभन्दा करिब ८.८ प्रतिशत कम हो । पछिल्लो साप्ताहिक न्याभसँग तुलना गर्दा बजार मूल्यमा रहेको अन्तर अझ बढेको देखिन्छ ।
ठुलो कोष परिचालन गरेर पनि बजारको औसत प्रतिफलसमेत हासिल गर्न नसक्दा एनआईबिएल समृद्धि फन्ड–२को लगानी व्यवस्थापनको गुणस्तरमा प्रश्न उठेको छ ।

लाभांश बाँडेर साँवा खुम्च्याउने जोखिम
तत्कालीन मेगा क्यापिटलबाट सुरु भएको मेगा म्युचुअल फन्ड–१ मर्जरपछि एनआइएमबि एस क्यापिटलको व्यवस्थापनमा आएको फन्ड हो ।

१ अर्ब २५ करोड रुपैयाँ कोष आकार रहेको एनआईएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१ले गत आर्थिक वर्षमा ११.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।तर, लाभांश वितरणपछि एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१को सम्पत्ति मूल्यमा गिरावटले लगानीकर्ताको ध्यान तानेको छ ।

असोज मसान्तमा एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१को न्याभ ९ रुपैयाँ ७४ पैसा थियो । पछिल्लो साप्ताहिक विवरणमा एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१को न्याभ घटेर ९ रुपैयाँ ५२ पैसामा झरेको छ । दोस्रो बजारमा एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१को इकाइ करिब ९ रुपैयाँमा कारोबार भइरहेको छ ।

एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१ले वितरण गरेको नगद लाभांशलाई मात्र प्रतिफलको आधार मान्न सकिँदैन । लाभांश वितरणपछि एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१को न्याभमा त्यसको प्रभाव पर्छ ।

२०८८ भदौ २२ गते परिपक्व हुने एनआइएमबि एस क्यापिटलको मेगा म्युचुअल फन्ड–१ योजनासँग पुँजी पुनर्निर्माण र लगानीकर्ताको अपेक्षा पूरा गर्ने पर्याप्त समय भए पनि त्यसका लागि प्रभावकारी लगानी रणनीतिको अभाव देखिएको छ ।

स्टेबल फन्डमै छैन स्थिरता
नाममै स्थिरताको सङ्केत दिने एनआइबिएल स्टेबल फन्डको अवस्था पनि सन्तोषजनक देखिदैन । १ अर्ब १३ करोड रुपैयाँ कोष आकार रहेको एनआइबिएल स्टेबल फन्डको असोज मसान्तको न्याभ ९ रुपैयाँ ५८ पैसा छ । एनआइबिएल स्टेबल फन्डको इकाइ ८ रुपैयाँ ८३ पैसामा दोस्रो बजारमा हाराहारीमा कारोबार भइरहेको छ ।

चार फन्डमा तीनको न्याभ १० रुपैयाँभन्दा कम रहनु, र अर्को फन्डको न्याभ आधार मूल्यभन्दा केही पैसामात्र माथि हुनु, क्यापिटलको लागि सामान्य अवस्था होइन । क्यापिटलले फन्डहरूको लगानी पोर्टफोलियो, सम्पत्ति छनोट, जोखिम व्यवस्थापन र बजारको अवसर उपयोग गर्ने क्षमतामा चुकेको देखिन्छ ।

एउटै व्यवस्थापन, फरक योजना तर उस्तै समस्या
एनआइएमबि एस क्यापिटलले यी चार बन्दमुखी योजनाबाहेक ११ अर्ब ६८ करोड रुपैयाँ कोष आकारको एनआइबिएल सहभागिता फन्ड नामक खुलामुखी योजना पनि सञ्चालन गरिरहेको छ ।

क्यापिटलले ठुलो खुलामुखी योजना र चार बन्दमुखी योजना व्यवस्थापन गरिरहेको छ । ठुलो परिमाणको सम्पत्ति व्यवस्थापन आफैँमा चुनौतीपूर्ण काम हो । प्रत्येक योजनाको लगानी उद्देश्य, जोखिम वहन क्षमता, परिपक्व हुने अवधि र प्रतिफलको लक्ष्य फरक हुन्छ । त्यसअनुसार छुट्टाछुट्टै लगानी रणनीति र प्रभावकारी निगरानी आवश्यक हुन्छ ।

बजार विश्लेषकहरूले एउटै व्यवस्थापकअन्तर्गत धेरै योजना सञ्चालन हुँदा व्यवस्थापनको प्राथमिकता र स्रोत परिचालनको विषयमा प्रश्न उठ्ने गरेको बताउँछन् ।

विशेषगरी विभिन्न योजनामा उस्तै प्रकृतिका सेयर दोहोरिने अर्थात् पोर्टफोलियो दोहोरोपनको समस्या भएमा जोखिम विविधीकरणको उद्देश्य नै कमजोर हुने उनीहरूको भनाई छ ।

क्यापिटलले धेरै फन्ड सञ्चालन गर्नु नै कमजोर प्रतिफलको कारण हो भन्ने निष्कर्षमा पुग्न पर्याप्त आधार हुँदैन एक सेयर लगानीकताले भने, “त्यसका लागि प्रत्येक योजनाको पोर्टफोलियो संरचना, क्षेत्रगत लगानी, सेयर खरिद–बिक्रीको समय, नगद मौज्दात, कारोबार लागत र बेन्चमार्कसँगको तुलनात्मक प्रतिफल अध्ययन गर्नुपर्ने हुन्छ।”

व्यवस्थापन शुल्कको औचित्यमाथि प्रश्न
म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताले फन्ड व्यवस्थापनको जिम्मेवारी क्यापिटललाई सुम्पेका हुन्छन् । त्यसबापत व्यवस्थापकले व्यवस्थापन शुल्क तथा योजनाअनुसार सुपरिवेक्षण र अन्य सञ्चालन खर्च लिने गर्छन्। फन्डको शुल्कको औचित्य फन्डले प्रदान गर्ने व्यावसायिक व्यवस्थापन, जोखिम नियन्त्रण र प्रतिफलसँग जोडिएको हुन्छ ।

तर, व्यवस्थापन शुल्क नियमित रूपमा असुल गर्ने फन्डहरूले बजारको औसत प्रतिफलसमेत हासिल गर्न नसक्दा क्यापिटलको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।

लगानीकर्ताले आफ्नो पुँजी व्यवस्थापनको जिम्मेवारी व्यावसायिक संस्थालाई सुम्पनुको प्रमुख कारण व्यक्तिगत रूपमा सम्भव नहुने अनुसन्धान, विश्लेषण र जोखिम व्यवस्थापनबाट लाभ लिनु हो ।

क्यापिटलको नतिजा बजारको तुलनामा कमजोर रहिरहने हो भने लगानीकर्ताले क्यापिटलको व्यवस्थापन सेवाका लागि शुल्क तिर्नुको औचित्य खोज्ने लगानीकर्ताको भनाई छ ।

यी चारवटै बन्दमुखी फन्डको परिपक्व हुने अवधि अझै बाँकी छ। एनआईबिएल ग्रोथ फन्ड २०८९ पुस २ गते, समृद्धि फन्ड–२ २०८८ वैशाख २४ गते, मेगा म्युचुअल फन्ड–१ २०८८ भदौ २२ गते र स्टेबल फन्ड २०८८ माघमा परिपक्व हुनेछन् ।

क्यापिटलले फन्ड व्यवस्थापकलाई लगानी रणनीति सुधार्ने र पोर्टफोलियो पुनर्संरचना गर्ने समय दिएको छ । क्यापिटलको लागि विगतको कमजोर नतिजाको समीक्षा गरेर स्पष्ट रणनीति बनाउनुपर्ने हुन्छ ।

विशेषगरी कुन क्षेत्रमा कति लगानी गर्ने, कुन कम्पनीको सेयरमा कति जोखिम लिने, बजारको उतारचढावमा नगद मौज्दात कसरी परिचालन गर्ने र योजनाको बेन्चमार्कभन्दा राम्रो प्रतिफल कसरी हासिल गर्ने भन्ने विषयमा क्यापिटलको स्पष्ट कार्ययोजना आवश्यक देखिन्छ।

म्युचुअल फन्डको सफलता केवल लाभांश वितरणमा सीमित हुँदैन। लगानीकर्ताको कुल सम्पत्ति संरक्षण, जोखिमअनुसारको प्रतिफल र दीर्घकालीन सम्पत्ति वृद्धिमा क्यापिटलको वास्तविक सफलता मापन हुन्छ ।

एनआइएमबि एस क्यापिटलका चार बन्दमुखी योजनाको अहिलेको अवस्थाले व्यावसायिक व्यवस्थापनको अपेक्षासहित सुम्पिएको पुँजीको संरक्षण र वृद्धि गर्ने जिम्मेवारी पूरा भइरहेको छ कि छैन भन्ने प्रश्न उठाएको छ ।