काठमाडाैँ । चीनले नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सडक, जलविद्युत, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिवद्धता जनाएको छ ।
बुधबार काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु समारोहमा नेपालस्थित चिनियाँ दुतावासका मिनिस्टर काउन्सिलर झाओ पानले नेपालसँगको पूर्वाधार सहकार्यलाई थप गहिरो बनाउने बताएका हुन् ।
उनले चीन र नेपालबिचको सम्बन्ध असल छिमेकी तथा साझेदारका रूपमा स्थापित रहेको उल्लेख गर्दै पूर्वाधार विकास दुई देशबिचको सहकार्यको महत्वपूर्ण आधार भएको बताए ।
चीनले बेल्ट एण्ड रोड सहकार्यलाई उच्च गुणस्तरमा अघि बढाउने उद्देश्यसहित पारस्परिक परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्तअनुसार नेपालसँग जलविद्युत तथा सडक पूर्वाधारका महत्वपूर्ण आयोजनामा सहकार्य गरिरहेको उनले उल्लेख गरे ।
मिनिस्टर काउन्सिलर झाओले आगामी दिनमा पूर्वाधार, सम्पर्क सञ्जाल, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा चिनियाँ दुतावासले पुलको भुमिका निर्वाह गर्ने बताए । दुवै देशका जनताको हितका लागि थप ठोस परियोजना अघि बढाउन चीन तयार रहेको उनको भनाइ छ ।
महादेवटार सुरुङको ब्रेकथ्रुलाई ऐतिहासिक उपलब्धिको संज्ञा दिँदै उहाँले यसले द्रुतमार्गको उक्त खण्ड निर्माणमा महत्वपूर्ण प्रगति भएको र आयोजना अन्तिम चरणमा पु¥याउन आधार तयार गरेको बताए ।
हिमालयको दक्षिणी फेदीमा निर्माण भइरहेको महादेवटार सुरुङ काठमाडौँ–तराई द्रुतमार्गको महत्वपूर्ण संरचना हुनुका साथै नेपालमा हाल निर्माणाधीन सबैभन्दा लामो राजमार्ग सुरुङ भएको उनले उल्लेख गरे ।
उनले सुरुङ निर्माणमा संलग्न नेपाली तथा चिनियाँ इन्जिनियर, प्राविधिक र श्रमिकहरूको मेहनत तथा दक्षताको प्रशंसा गर्दै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको प्रतिवद्धता र व्यावसायिक क्षमताको प्रशंसा गरे ।
चिनियाँ राजदुत चेन सोङको तर्फबाट ब्रेकथ्रु सफल भएकोमा बधाई दिँदै उनले नेपाल–चीनबिचको मित्रता र रणनीतिक सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । साथै नेपालको विकास र समृद्धिको कामना गरे ।


प्रतिक्रिया दिनुहोस्