प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक कुटनीतिलाई प्राथमिकता


काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कुटनीति र निजी क्षेत्रबिचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिए ।

उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ । भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुँदैछ ।

सचिव राईकाअनुसार व्यवसायीबिचको छलफलले दुई देशबिच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।

सचिव राईले नेपाल र भारतबिच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री साहको भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन् ।