काठमाडाैँ । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट करिब १०७ मिलियन अमेरिकी डलर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएकाे छ।
शुुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, आज बसेकाे मन्त्री परिषद् बैठकले २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेकाे छ ।
चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने भएकाे छ ।।
नेपाल भर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नाप जाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने निर्णय सरकारले गरेकाे छ ।
राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत गर्ने, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ स्वीकृत गर्ने, राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय भएकाे तिमिल्सिनाले बताए ।


प्रतिक्रिया दिनुहोस्