नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्र सम्भव हुने बताएका छन् ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनीलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको बताए ।

उनले उक्त आयातमा खाद्य वस्तुका अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने भएकाले यसलाई खाद्यान्नको आयात मात्रै भन्न नमिल्ने स्पष्ट पारे ।

तथापि, धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने ठूलो सम्भावना नेपालसँग रहेको उनको भनाइ छ । 

मन्त्री साहले किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन वृद्धि गर्ने प्रविधि, आधुनिक उपकरण र आवश्यक साधन उपलब्ध गराउनुपर्ने बताए । परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक तथा प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषि यान्त्रीकरणलाई यसको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे । 

उनले नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरू केवल कृषि मेसिनरीका व्यापारी मात्र नभई नेपालको कृषि रूपान्तरणका अभियन्तासमेत भएको बताए । उनले संघका सदस्यहरुले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमा योगदान दिएको समेत उल्लेख गरे ।

स्वदेशी कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र कृषिलाई उत्पादनमुखी तथा प्रतिष्पर्धी बनाउने अभियानमा सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।