भैरहवा हवाई रुट दुईतर्फी बन्ने


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले थप हवाई प्रवेशमार्ग पाउने भएको छ। भारतले भैरहवा रुटलाई दुईतर्फी सञ्चालन गर्न सहमति जनाएको छ।

सहमतिअनुसार हाल एकतर्फी रहेको काठमाडौँ–भैरहवा–लखनऊ (बी३३५) हवाई मार्ग अब दुवैतर्फ सञ्चालन हुनेछ। यसका लागि प्राविधिक परामर्श गरी आवश्यक मोडालिटी टुङ्ग्याइनेछ। लामो समयदेखि नेपालले माग गर्दै आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यावसायिक सञ्चालनका लागि यो सहमति कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ।

२ खर्ब ४० अर्ब रुपैयाँको बृहत् विकास सहायता प्याकेज

भारतले नेपालको विकास यात्रामा निकटतम छिमेकीका रूपमा साथ दिँदै १५ हजार करोड भारतीय रुपैयाँ (अर्थात् करिब २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको बृहत् विकास सहायता प्याकेज प्रदान गर्ने घोषणा गरेको छ। यस प्याकेजअन्तर्गत विपद्पश्चात्को पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरू निर्माणका लागि ३ हजार ५ सय करोड भारतीय रुपैयाँ (५६ अर्ब नेपाली रुपैयाँ) अनुदान सहायताका रूपमा उपलब्ध हुनेछ। बाँकी ११ हजार ५ सय करोड भारतीय रुपैयाँ (१ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) बराबरको रकम भने ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि सहुलियतपूर्ण कर्जा सुविधाका रूपमा प्रदान गरिनेछ।

यसका अतिरिक्त, चितवनमा भारतको अनुदान सहायतामा आधुनिक कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणासमेत भएको छ। दुवै नेताले नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास आयोजना (एचआईसीडीपी) र भारत सरकारको सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगतिप्रति सन्तोष व्यक्त गरे।

गुजरात र ओडिशाका बन्दरगाहमा पारगमन पहुँच

भूपरिवेष्टित नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार र पारगमन लागत घटाउन भारतले दुईवटा नयाँ समुद्री बन्दरगाहको पहुँच उपलब्ध गराउने ऐतिहासिक घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले गुजरातको काण्डलास्थित दीनदयाल बन्दरगाहमार्फत नेपाललाई नयाँ पारगमन पहुँच दिने घोषणा गरेका हुन्। यसले तेस्रो मुलुकसँगको व्यापारमा नेपाललाई ठूलो रणनीतिक विकल्प प्रदान गर्नेछ। साथै, आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि ओडिशास्थित पारादीप बन्दरगाहको पहुँचसमेत नेपाललाई उपलब्ध गराइने सहमति भएको छ।

अयोध्या–जनकपुर रेल सेवा सुरु, रक्सौल–काठमाडौँको सर्भे सम्पन्न

सीमापार सम्पर्क सञ्जाल विस्तारअन्तर्गत दुवै प्रधानमन्त्रीले भारतको अयोध्या र नेपालको जनकपुरधामबीच सञ्चालन हुने उद्घाटन रेलसेवा ‘सरयू–कमला एक्सप्रेस’ को संयुक्त रूपमा शुभारम्भ गरे। यस रेलसेवाले सीमापार आवागमन सहज बनाउनुका साथै रामायण परिपथ (सर्किट) मा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गरी दुई देशबीचको प्राचीन सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। दुवै नेताले आगामी दिनमा बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन परिपथ विकास गर्नसमेत यस्तै कनेक्टिभिटी विस्तार गर्ने सहमति जनाए।

यसैगरी, बहुप्रतीक्षित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण (फिल्ड लोकेसन सर्भे) सम्पन्न भएको घोषणा गर्दै नेपालको पूर्व–पश्चिम रेलमार्गको विकासमा समेत भारतले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

अन्तरदेशीय पुल, आईसीपी र सीमा व्यवस्थापन

सुदूरपश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष आवागमन तथा व्यापारिक सम्पर्क सहज बनाउन भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सीमापार मोटरयोग्य पुलको दुवै नेताले संयुक्त रूपमा उद्घाटन गरे। यस पुलले महाकाली वारिपारिका नागरिकको दैनिक जीवनयापन र व्यापारमा प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

त्यस्तै, भर्चुअल माध्यमबाट बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गरिनुका साथै भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको कामलाई तीव्रता दिने सहमति भएको छ। भारत र नेपालबीच तीनवटा आईसीपी यसअघि नै सञ्चालनमा आइसकेका छन्। सीमा व्यवस्थापनतर्फ सीमा स्तम्भहरूको मर्मत तथा सम्भारमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दुवै नेताले बाँकी रहेका सीमासम्बन्धी विषयहरूलाई कूटनीतिक संवादका माध्यमबाट टुङ्ग्याउन दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिए।

तल्लो अरुणको शिलान्यास र ऊर्जा तथा पेट्रोलियम सहकार्य

ऊर्जा तथा जलस्रोत क्षेत्रको सहकार्यलाई थप उचाइमा पुर्‍याउँदै दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरे। लामो समयदेखि प्रतीक्षामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई शीघ्र अन्तिम रूप दिई कार्यान्वयन प्रक्रिया अगाडि बढाउन पञ्चेश्वर विकास प्राधिकरण तथा जलस्रोत संयुक्त समितिलाई निर्देशन दिइएको छ। साथै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआर कार्यलाई तीव्रता दिई जलस्रोतको पारस्परिक लाभ लिने र बाढीको जोखिम न्यूनीकरण गर्ने सहमतिसमेत भएको छ।

विद्युत् व्यापारलाई सहज बनाउन इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली उच्च क्षमताका सीमापार प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठनमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।

पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना राष्ट्रलाई समर्पण गरिएको छ। भर्चुअल माध्यमबाट झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास गरिनुका साथै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण कार्य छिट्टै सुरु गर्ने र प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा सहकार्य खोज्ने सहमति भएको छ।

नेपालमा आईआईटी क्याम्पस र बैंकिङ–टेलिकम सुविधा

उच्च शिक्षा र प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा प्रतिष्ठित भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफ–शोर’ (विदेशी) क्याम्पस स्थापना गर्ने सहमति जनाएको छ। यसले नेपालको प्राविधिक शिक्षाको गुणस्तर उकास्नुका साथै स्वदेशमै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यसैगरी, एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा वा भ्रमण गर्दा भोग्नुपरेको भुक्तानी र सञ्चारको समस्या समाधान गर्न बैंकिङ तथा दूरसञ्चार (टेलिकम) सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्ने गरी पारस्परिक रूपमै सहजीकरण गर्ने सहमति पनि भएको छ।

विभिन्न ८ क्षेत्रमा समझदारी

भ्रमणका क्रममा सुरक्षा, प्रशासनिक सुधार, अन्तरिक्ष, स्वास्थ्य र कृषिलगायत विभिन्न आठवटा महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन्।
सुरक्षा तथा अनुसन्धान क्षमता अभिवृद्धिका लागि भारतको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ भने भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच पनि सहकार्यको सम्झौता भएको छ। त्यस्तै, निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्न भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

अन्तरिक्ष प्रविधि र सञ्चार क्षेत्रको सहकार्यअन्तर्गत भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इस्रो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्ने समझदारी भएको छ। यसका अलावा दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहयोग, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीको प्रवर्द्धन, स्वास्थ्य तथा औषधिजन्य क्षेत्रमा सहकार्यका लागि दुवै देशका स्वास्थ्य मन्त्रालयबीच सम्झौता र पशुधन तथा मत्स्य विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रहरू आदानप्रदान भएका छन्।