बाढी प्रभावितको जीविकोपार्जन र स्थानीय अर्थतन्त्र उकास्न उद्योग वाणिज्य महासङ् र भारतीय उद्योग परिसङ्घबिच समझदारी


काठमाडौँ । नेपालका बाढी प्रभावित क्षेत्रको तत्कालीन राहतमा मात्र सीमित नरही प्रभावित समुदायको दीर्घकालीन जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनरुत्थान गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहकाे भ्रमणकाे अवसर पारेर नयाँ दिल्लीमा आइतबार आयोजित विशेष समारोहमा महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र भारतीय उद्योग परिसङ्घ इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

एक वर्षका लागि लागू हुने यो साझेदारीअन्तर्गत बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलाई मुख्य प्राथमिकतामा राखेर दुई चरणमा कार्यक्रम सञ्चालन गरिनेछ । स्थलगत आवश्यकता र सम्भाव्यताका आधारमा गण्डकी प्रदेशका गोरखा, बागलुङ, मुस्ताङ र मनाङसम्म यो अभियान विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन हुने पहिलो चरणमा विपद्पछिको स्वास्थ्य जोखिम न्यूनीकरणलाई केन्द्रमा राखिएको छ ।

यसअन्तर्गत प्रभावित बस्तीहरूमा विशेष स्वास्थ्य शिविर, निःशुल्क औषधी, सुरक्षित खानेपानी तथा सरसफाइ सामग्री (वास किट) वितरण गरिनेछ । शिविरमार्फत मातृ तथा बाल स्वास्थ्य सेवाका साथै बाढीपछि फैलिन सक्ने पानीजन्य र सङ्क्रामक रोगको पहिचान एवं उपचार गरिनेछ । यसै चरणमा दुईओटा अस्पताललाई अत्यावश्यक जीवनरक्षा सेवासहितका आधुनिक एम्बुलेन्ससमेत हस्तान्तरण गरिनेछ ।

पहिलो चरणको राहतपछि दोस्रो चरणमा प्रभावित परिवारलाई आत्मनिर्भर बनाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम अघि बढाइनेछ । जसअन्तर्गत कृषि, पशुपालन र स्थानीय सेवामूलक व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक औजार, उपकरण तथा सीपमूलक तालिम उपलब्ध गराइनेछ ।

विशेषगरी, बाढीले थलिएका सूक्ष्म, लघु तथा साना उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि प्राविधिक सहयोग, वित्तीय पहुँच, बजार सम्पर्क र नेपाली तथा भारतीय उद्योगी व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक साझेदारी विस्तारमा सहकार्य गरिनेछ ।

समझदारीअनुसार कार्यक्रमको कार्यान्वयनमा दुवै संस्थाले स्पष्ट कार्यविभाजन गरेका छन् । भारतीय उद्योग परिसङ्घले भारत सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक आर्थिक स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ ।

उद्योग वाणिज्य महासङ्घ नेपालले नेपाल सरकार र स्थानीय तहसँगको समन्वय, कानुनी स्वीकृति तथा स्थानीय उद्योगी व्यवसायीको परिचालनमार्फत कार्यक्रमको प्रभावकारी व्यवस्थापन गर्नेछ । आपसी सहमतिमा विशेष परियोजना र वित्तीय व्यवस्थासम्बन्धी थप सम्झौता गर्न सकिने ढोकासमेत समझदारीपत्रले खुला राखेको छ ।