काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा जारी ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दृष्टिकोणपत्र द्विपक्षीय सम्बन्धलाई आधुनिक र नतिजामुखी साझेदारीमा रूपान्तरण गरिने प्रतिबद्धता जनाइएको छ । दृष्टिकोणपत्रले विशेषगरी युवा पुस्ताका आकांक्षामा केन्द्रित रही भविष्यको मार्गचित्रका रूपमा १० वटा मुख्य स्तम्भ तय गरेको छ।
“विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना”
१. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ मङ्सिर ६ देखि ७ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभयो। दुई प्रधानमन्त्रीबिच नयाँ दिल्लीमा सौहार्दपूर्ण, सारगर्भित तथा अग्रगामी वार्ता भई द्विपक्षीय सम्बन्धको समग्र पक्षमा बृहत् समीक्षा सम्पन्न भयो।
२. भारत र नेपालबिचको युगौँ पुरानो सभ्यतागत सम्बन्ध आपसी सम्मान र पारस्परिक लाभका सिद्धान्तहरूको पालनाका अतिरिक्त जनस्तरको गहिरो आबद्धताबाट शक्ति प्राप्त गर्दै एक बहुआयामिक साझेदारीका रूपमा विकसित भएको कुरा दुवै नेताले स्वीकार गरेका छन्।
३. सन् २०२६ को अगस्ट महिनामा रसुवा–त्रिशूली बेसिन तथा देशका अन्य भागमा गएको बाढी र लेदोसहितको पहिरो पश्चात् भारतले उपलब्ध गराएको तत्काल मानवीय तथा खोज तथा उद्धार सहायताका लागि नेपालले आभार व्यक्त गर्यो। नेपालको पुनर्निर्माण प्रयासमा उपलब्ध गराइने थप सहयोगका विषयमा निरन्तर सम्पर्कमा रहिरहन दुवै नेता सहमत भएका छन्।
४. द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थलाई प्रतिबिम्बित गर्नुपर्ने र अद्यावधिक तथा अग्रगामी कानुनी ढाँचामा आधारित हुनुपर्ने कुरामा दुवै नेता सहमत हुनुभयो, जसअन्तर्गत सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिनेछ। जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी विषयलगायत सबै थाती रहेका विषयहरू आपसी छलफल र संवादमार्फत समाधान गरिनेछ।
५. भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनतालाई ठोस लाभ प्रदान गर्ने आधुनिक तथा नतिजामुखी साझेदारीमा रूपान्तरण गर्न दुई नेताहरूले भारत र नेपालका जनता विशेषगरी युवा पुस्ताका आकाङ्क्षामा केन्द्रित यस ‘संयुक्त दृष्टिकोण’ लाई अङ्गीकार गरेका छन्; जसले देहायका दश स्तम्भहरूमा केन्द्रित रही द्विपक्षीय साझेदारीको भविष्यका लागि मार्गचित्र प्रदान गर्नेछ :
क. बृहत् आर्थिक तथा विकास साझेदारी
भारतको ‘विकसित भारत २०४७’ को राष्ट्रिय दृष्टिकोण र नेपालको ‘समुन्नत नेपाल’ को राष्ट्रिय आकाङ्क्षाबिच कैयौँ परिपूरकताहरू रहेका छन्, जसलाई दुई देशबिचको व्यापक आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन उपयोग गर्न सकिन्छ। यसअन्तर्गत देहायका विषयहरू समावेश हुनेछन् :
१. अझ बृहत् आर्थिक साझेदारीलाई सहजीकरण गर्न दुवै देशबिचका व्यापार तथा लगानीसम्बन्धी सहायक ढाँचा/सम्झौताहरूको पुनरावलोकन गर्ने।
२. पहुँचमा सुधार ल्याउन र सम्पर्क सञ्जाल सुदृढ गर्न नयाँ पारवहन मार्ग तथा हवाई मार्गहरू खुला गर्ने।
३. उत्पादनमूलक तथा अन्य प्रशोधन उद्योगहरूको आपूर्ति शृङ्खलासँग आबद्धता कायम गर्न भारत–नेपाल सीमा नजिक निर्यातमुखी उत्पादनका लागि सीमापार विशेष आर्थिक क्षेत्र/पार्कहरूको स्थापना गर्न सहकार्य गर्ने तथा सूचना प्रविधि (आइटी) पार्कहरूको विकासमा सहयोग गर्ने।
४. लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने र व्यवसाय सञ्चालनमा सहजता (इज अफ डुइङ बिजनेस) ल्याउने व्यवस्थाहरूको निष्कर्षमार्फत नेपालका प्राथमिकताप्राप्त क्षेत्रहरूमा भारतीय लगानीलाई प्रोत्साहन गरिनेछ।
५. भारतले नेपालमा विपद्पश्चात्को पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि भा.रु. ३,५०० करोड (ने.रु. ५,६ अर्ब) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भा.रु. ११,५०० करोड (ने.रु. १ खर्ब ८४ अर्ब) को भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण गरी कुल भा.रु. १५,००० करोड (ने.रु. २ खर्ब ४० अर्ब) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। विशिष्ट परियोजनाहरूका साथै विकास सहायता उपलब्ध गराउने कार्यविधि आपसी परामर्शमार्फत अन्तिम रूप दिइनेछ।
ख. भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल (कनेक्टिभिटी)
आर्थिक सहकार्यलाई गहिरो बनाउन र जनस्तरको सम्बन्धलाई सुदृढ गर्न सम्पर्क सञ्जाल एक प्रमुख संवाहक हो। यस क्षेत्रमा हासिल भएको उल्लेखनीय प्रगतिलाई स्वीकार गर्दै दुवै देशका प्रधानमन्त्रीहरूले अयोध्या (भारत) र जनकपुर (नेपाल) बिचको प्रत्यक्ष द्रुत रेल सेवा तथा धार्चुला (भारत) र दार्चुला (नेपाल) बिच महाकाली नदीमाथिको मोटरेबल पुलको शुभारम्भको स्वागत गरेका छन्। उनीहरू देहायका विषयमा थप सहमत भएका छन् :
१. भैरहवा (नेपाल) र सुनौली (भारत) मा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) हरूको निर्माण कार्यलाई तीव्रता दिने तथा बनबासा (भारत) र दोधारा चाँदनी (नेपाल) मा नयाँ एकीकृत जाँच चौकीहरूको निर्माण अगाडि बढाउने।
२. जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका अन्तिम खण्डहरूको निर्माण कार्य शीघ्र सम्पन्न गर्ने।
३. रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) सम्पन्न भएकोमा स्वागत गर्दै भारत र नेपालबिच अन्तरसञ्चालनयोग्य रेल सञ्जाल निर्माण गर्न बर्दिबास–निजगढ खण्ड र वीरगन्ज–निजगढ लिंकलाई प्राथमिकतामा राखी नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा सहकार्य गर्न सहमत भए।
४. नयाँ मोटरेबल पुल र व्यापारिक नाकाहरूमार्फत भारत र नेपालबिचको सडक सम्पर्क सञ्जाललाई थप सुदृढ बनाउने।
५. सिलिगुडी (भारत) र झापा (नेपाल) जोड्ने नयाँ पाइपलाइनको निर्माणलगायत सीमापार पेट्रोलियम आपूर्ति पूर्वाधारको विस्तार गर्ने तथा भारत र नेपालबिच ग्यास पाइपलाइन निर्माणको सम्भावनाबारे अध्ययन गर्ने।
६. भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबिचको आबद्धतालाई आधार मान्दै सीमापार खुद्रा भुक्तानीको कार्यान्वयनलाई तीव्रता दिन दुवै पक्ष सहमत भए।
७. ‘पिएम गति शक्ति’जस्ता मञ्चहरूमार्फत एकीकृत पूर्वाधार योजना र सम्पर्क सञ्जालमा सहकार्य गर्ने, जसलाई नेपालले आफ्नो भौगोलिक तथा विकास प्राथमिकताअनुरूप अनुकूलन गर्न सक्नेछ।
८. भारत र नेपालबिचको अन्तर्राष्ट्रिय सीमालाई खुला, सुरक्षित र सुव्यवस्थित राख्ने तथा सीमापार अपराध र गैरकानुनी गतिविधिविरुद्धको सहकार्यलाई सुदृढ बनाउने।
ग. ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता
ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्यलाई गहिरो बनाउने भारत र नेपालबिचको अपार सम्भावनालाई मनन गर्दै दुवै पक्ष संस्थागत सहकार्य सुदृढ गर्न, पारस्परिक लाभकारी साझेदारी प्रवर्द्धन गर्न तथा दिगो, उत्थानशील र समावेशी विकासतर्फ सामूहिक प्रयासहरूलाई अगाडि बढाउन सहमत भए। यस उद्देश्यका लागि :
१. ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेजअनुरूप भारतले नेपालको जलविद्युत् तथा प्रसारण पूर्वाधारमा थप लगानीलाई प्रोत्साहन गर्नेछ भने नेपालले त्यस्तो लगानीका लागि अनुकूल तथा पारस्परिक लाभकारी ढाँचालगायत उचित सहयोग र सहजीकरण उपलब्ध गराउनेछ। भारत र नेपालबिच विद्युत् व्यापार विस्तार गर्ने उद्देश्यले सम्बन्धित निकायहरूले पारस्परिक लाभ र बजारको मागका आधारमा विद्युत् व्यापारलाई थप अभिवृद्धि गर्ने सम्भावनाको खोजी गर्नेछन्।
२. पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीका कारण उत्पन्न हुने प्रतिकूल असरहरूलाई न्यूनीकरण गर्न दुवै पक्षले पञ्चेश्वर तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनालगायत निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् र बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनमा तीव्रता ल्याउनेछन्।
३. जीवन, जीविकोपार्जन र पूर्वाधारको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली तथा विपद्पश्चात्को पुनर्लाभका क्षेत्रमा सक्रिय साझेदारी गर्न दुवै पक्ष सहमत भए।
४. जल तथा मौसम विज्ञानसम्बन्धी तथ्याङ्क, हिमताल अनुगमन र पूर्वसूचनाको वास्तविक समयमा (Real-time) दोहोरो आदानप्रदानलाई संस्थागत गर्न दुवै पक्ष सहमत भए। संयुक्त मानवीय सहायता तथा विपद् राहत (HADR) अभ्यास, क्षमता अभिवृद्धि, तालिम र मानवीय सहयोगका माध्यमबाट दुवै देशका सम्बन्धित निकायहरूबिचको सहकार्य अभिवृद्धि गर्न पनि सहमति भयो।
५. अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए), विपद् उत्थानशील पूर्वाधारका लागि गठबन्धन (सीडीआरआई), इसिमोड तथा इन्टरनेसनल बिग क्याट अलायन्स (आईबीए) लगायत बहुपक्षीय सङ्गठनहरूभित्र सहकार्य अभिवृद्धि गर्न दुवै पक्ष सहमत भए।
६. नेपालमा हरित हाइड्रोजन (ग्रिन हाइट्रोजन) सम्बन्धी नमुना परियोजनालगायत सौर्य ऊर्जादेखि भू–तापीय (Sub-surface) ऊर्जासम्मका अतिरिक्त ऊर्जा स्रोतहरूको विकासमा सहकार्य गर्न दुवै पक्ष सहमत भए।
७. भारतले नीति निर्माण, नियमन, मापदण्ड, वन विज्ञान, जोखिम नक्साङ्कन तथा जलवायु उत्थानशील कृषिजस्ता वातावरणसम्बन्धी क्षेत्रहरूमा नेपाली युवा पेसाकर्मी, अधिकारी र विज्ञहरूको तालिमका लागि सहजीकरण गर्नेछ।
८. भारतले जलाशयहरूको पुनर्जीवन तथा भूमिगत जल प्रदूषण नियन्त्रणका क्षेत्रमा समेत आफ्नो विशेषज्ञता साझा गर्नेछ।
घ. सुशासन
सुशासनसम्बन्धी नेपालका प्राथमिकताहरू र भारतले अपनाएको दृष्टिकोणबिच- विशेषगरी डिजिटल प्रविधिको अवलम्बन तथा नागरिक र सरकारबिचको अन्तरक्रियालाई अझ पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा-उल्लेखनीय समानता रहेको छ। यस उद्देश्यका लागि :
१. विश्वव्यापी रूपमा मान्यता प्राप्त डिजिटल सार्वभौमसत्ता र तथ्याङ्क संरक्षणका सिद्धान्तहरूअनुरूप ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यान्वयनलाई सक्षम बनाउन डिजिटल पहिचान, भुक्तानी तथा ई–गभर्नेन्सका क्षेत्रमा डिजिटल सार्वजनिक पूर्वाधारसम्बन्धी प्राविधिक विशेषज्ञता र असल अभ्यासहरूको आदानप्रदान गरिनेछ।
२. भारतको ‘नेसनल सेन्टर फर गुड गभर्नेन्स’ (एनसीजीजी) मार्फत भारतमा नेपाली निजामती कर्मचारीहरूको तालिमको व्यवस्था मिलाइनेछ।
३. दुवै पक्षले सङ्घीय तथा प्रादेशिक तहका व्यवस्थापिकाहरूबिच अनुभव र असल अभ्यासहरूको आदानप्रदान गर्नेछन्।
४. भारतका सम्बन्धित निकायहरूमा भ्रमण आदानप्रदान र तालिम कार्यक्रमहरूमार्फत स्थानीय शासनमा सहकार्य सुदृढ गरिनेछ।
ङ. प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन
प्रविधिको बृहत्तर अवलम्बन र प्रयोगलाई प्रोत्साहन गर्न, प्रविधि केन्द्र (टेक्नोलोजी हब) बन्ने नेपालको उद्देश्यअनुरूप तथा यी क्षेत्रहरूमा भारतको सामर्थ्यलाई दृष्टिगत गर्दै भारत–नेपाल साझेदारीले देहायका पहलहरू कार्यान्वयन गर्ने लक्ष्य राख्नेछ :
१. भारतमा नेपाली स्टार्टअपहरूको तालिम र मार्गदर्शन (मेन्टरसिप) तथा काठमाडौँमा ‘स्टार्टअप सेन्टर अफ एक्सिलेन्स’ र पोखरामा ‘डिजिटल नोम्याड्स एन्ड इनोभेसन हब’ स्थापना गर्ने कार्यलगायत ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ (इन-स्पान) को विस्तार गर्ने।
२. निजी लगानीको सहजीकरणमार्फत समेत नेपालमा डिजिटल पार्क र डेटा सेन्टरहरूको विकास गर्ने।
३. ‘भाषिणी’ सँगको सहकार्यलगायतका माध्यमबाट नेपाली भाषाका लागि लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) को विकाससहित यान्त्रिक बौद्धिकता (एआईI) का क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने।
४. भू–उपग्रह विकास, पृथ्वी अवलोकन, विपद् व्यवस्थापनका लागि रिमोट सेन्सिङ तथा क्षमता अभिवृद्धिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र सम्बन्धित नेपाली निकायहरू तथा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इस्रो) र इन–स्पेस बिचको सहकार्यलगायत अन्तरिक्षका क्षेत्रमा सहयोग सुदृढ गर्ने।
५. ५जी/६जी तथा अन्य आगामी पुस्ताका सञ्जालहरूजस्ता उदीयमान दूरसञ्चार प्रविधिहरूमा सहकार्य अभिवृद्धि गर्ने।
च. शिक्षा तथा सीप विकास
सीप विकास र क्षमता अभिवृद्धिको महत्त्वलाई आत्मसात् गर्दै दुवै देशले देहायका माध्यमहरूसहित तालिम, मानव संसाधन विकास र प्राज्ञिक आदानप्रदानमा अझ सुदृढ सहकार्य हासिल गर्न कार्य गर्नेछन् :
१. भारतीय प्रविधि संस्थान (आईआईटी) बाट सुरु गरी नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा/क्याम्पसहरू खोल्ने सम्भावनाको अध्ययन गरिनेछ।
२. अत्यन्त सफल रहँदै आएका विद्यमान छात्रवृत्ति योजनाहरूलाई आधार मान्दै नेपाली विद्यार्थीहरूका लागि कानुन, प्रविधि र यान्त्रिक बौद्धिकता (एआई) जस्ता नवीन विधाहरूमा छात्रवृत्ति र तालिमका अवसरहरू थप गरिनेछ।
३. प्राज्ञिक तथा तालिम संस्थाहरूबिचको सुदृढ सहकार्यका अतिरिक्त प्राध्यापक र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिनेछ।
४. उत्पादन, सेवा तथा उद्यमशीलताका लागि सान्दर्भिक क्षेत्रहरूमा नेपालका युवाहरूलाई सीप र तालिम प्रदान गर्न भारतीय सहायतामा एक व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिनेछ।
छ. खेलकुद
खेलकुदको विकास र सान्दर्भिक पूर्वाधार निर्माणमा नेपालले दिएको जोडलाई सुदृढ पार्न भारत र नेपालले देहायका मुख्य पहलहरूमा संयुक्त रूपमा कार्य गर्नेछन् :
१. राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधारको विकासमा सहयोग गर्नुका साथै नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) स्थापना गर्न भारतले सहयोग गर्नेछ।
२. नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानहरूमा प्रशिक्षण लिने अवसर प्रदान गरिनेछ।
३. नेपालमा आधुनिक बहु–खेलकुद केन्द्रहरूको विकासलगायत ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलहरूमा समेत यस्तै अवसरहरूको खोजी गरिनेछ।
४. संयुक्त आरोहण अभियानहरू सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिनेछ।
५. क्रिकेट, फुटबल तथा अन्य खेलहरूमा एकअर्काका खेलकुद लिगहरूमा भारत र नेपालका खेलाडीहरूलाई सहभागी गराउने अवसरहरूको खोजी गर्न दुवै देशका सम्बन्धित खेलकुद निकाय/पदाधिकारीहरूलाई प्रोत्साहित गरिनेछ।
ज. संस्कृति तथा पर्यटन
दुई देशबिचको सांस्कृतिक आबद्धता द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्ये एक रहँदै आएको छ। यस जीवन्त अन्तरक्रियालाई थप समृद्ध बनाउन :
१. भारत र नेपालले धार्मिक पर्यटन परिपथ र नयाँ गन्तव्यहरूको विकास गर्न साझेदारी गर्नेछन्। यसअन्तर्गत जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर र काठमाडौँ (पशुपतिनाथ)–वाराणसीलाई जोड्दै तथा भगिनी सहर सम्झौताहरूमार्फत रामायण, बौद्ध र शिव–शक्ति परिपथहरूको विकास गरिनेछ।
२. नेपाल र भारतमा पालैपालो वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्न तथा चलचित्र निर्माण, नाट्यकला र ललितकलाका क्षेत्रमा कलाकारहरूको तालिम र आदानप्रदान विस्तार गर्न दुवै पक्ष सहमत भए।
३. लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबिचको सहकार्य सुदृढ गरिनेछ।
४. पर्यटन तथा आतिथ्य क्षेत्रका युवा उद्यमीहरूबिच सहकार्य सहजीकरण गर्न तथा दोहोरो पर्यटन प्रवर्द्धनका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूको परिचयात्मक भ्रमणलाई प्रोत्साहन गर्न दुवै पक्ष सहमत भए।
ज. स्वास्थ्य
देशभरि आधारभूत स्वास्थ्य सेवाको एकीकृत मोडलमा नेपाल सरकारले दिएको जोड र स्वास्थ्यप्रति भारतले अपनाएको दृष्टिकोणबिच उल्लेखनीय तालमेल रहेको छ। विद्यमान परिपूरकतालाई दृष्टिगत गर्दै र यस क्षेत्रमा अझ सुदृढ सहकार्यलाई प्रवर्द्धन गर्न दुवै पक्षले :
१. नेपाल सरकारको आवश्यकताअनुसार स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पतालहरूको निर्माणका लागि उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीफी) ढाँचाअन्तर्गत परियोजनाहरू सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिँदै स्वास्थ्य पूर्वाधार सुदृढ गर्नेछन्।
२. नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नतिका लागि सहकार्य गर्नेछन्।
३. किफायती तथा गुणस्तरीय औषधिमा पहुँच अभिवृद्धि गर्न भारत–नेपाल जनऔषधि केन्द्रहरू स्थापना गर्नेछन्।
४. नेपालका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम (आईटेक) अन्तर्गत स्वास्थ्यसम्बन्धी क्षेत्रहरूमा विशेष तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।
५. दुवै देशका प्रमुख चिकित्सा संस्थाहरूबिच आबद्धता अभिवृद्धि गर्नेछन् तथा विद्यार्थी र प्राध्यापकहरूको आदानप्रदानलाई प्रोत्साहन गर्नेछन्।
६. भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तथा भारत (सीडीएससीओ) र नेपाल (औषधि व्यवस्था विभाग) का औषधि नियामक निकायहरूबिचको अनुसन्धान सहकार्यलाई सुदृढ गर्नेछन्।
झ. कृषि
यस क्षेत्रमा भारत र नेपालबिच अनुभव आदानप्रदान, तालिम तथा रूपरेखा दस्तावेजहरूको निष्कर्षलगायत उल्लेखनीय अन्तरक्रिया रहँदै आएको छ। यस क्षेत्रमा अग्रगामी संलग्नतालाई थप अभिवृद्धि गर्न दुवै पक्षले :
१. नेपाली कृषि उत्पादनहरूमा मूल्य अभिवृद्धि गर्न भारतको अनुदान सहायतामा चितवनमा एक कृषि–औद्योगिक पार्क स्थापना गर्नेछन्।
२. भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बिच सन् २०२६–२०३० को कार्ययोजनाको कार्यान्वयनलाई तीव्रता दिनेछन्।
३. नेपालका अधिकारी, कृषक र कृषि क्षेत्रसँग सम्बन्धित अन्य पेसाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कृषि तथा पशुपन्छीपालनसम्बन्धी क्षेत्रहरूमा विशेष तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।
४. नेपालमा एक ‘आइसिएआर सेन्टर अफ एक्सिलेन्स’ (ICAR Centre of Excellence) स्थापना गर्नेछन्, अग्रणी कृषि विश्वविद्यालयहरूलाई जोड्नेछन् तथा कृषि र पशुपन्छीपालनका क्षेत्रमा नेपाली अधिकारी, कृषक र उद्यमीहरूका लागि आवश्यकताअनुसारका तालिमहरू आयोजना गर्नेछन्।
कार्यान्वयन कार्यविधि
६. दुई प्रधानमन्त्रीहरूले नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेका छन्। यस अनुगमन संयन्त्रको बैठक कम्तीमा छ महिनामा एकपटक बस्नेछ र यसले परिकल्पना गरिएका परियोजना, अवधारणा तथा पहलहरूको शीघ्र कार्यान्वयन सुनिश्चित गर्नुका साथै सान्दर्भिक स्वीकृति/सहमतिहरूका लागि सहजीकरण गर्नेछ।
७. उच्चस्तरीय अनुगमन संयन्त्रले दुवै देशका परराष्ट्र मन्त्रीहरूको सहअध्यक्षतामा रहने भारत–नेपाल संयुक्त आयोगसमक्ष आफ्नो प्रतिवेदन पेस गर्ने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत भएका छन्। भारत–नेपाल संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णय गरिएको छ ।
८. यस संयुक्त दृष्टिकोण दस्तावेजले दुई मित्र राष्ट्रहरूबिचको आकांक्षी, आधुनिक र पारस्परिक लाभकारी साझेदारीको खाका प्रस्तुत गरेकोमा प्रधानमन्त्रीद्वयले विश्वास व्यक्त गर्नुभयो तथा यस साझा दृष्टिकोणलाई साकार पार्न कार्य गर्न भारत र नेपाल दुवै देशका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्