सरकार र निजी मेडिकल कलेजबिच विद्यार्थी भर्ना विवाद चर्कने सङ्केत,समाधानका लागि छलफल हुन सकेन


काठमाडौँ । सरकार र निजी मेडिकल कलेजबिच विद्यार्थी भर्नाबारेको विवाद चर्किने देखिएको छ । भर्नाका लागि तोकिएको समयभित्र मेडिकल कलेजहरूले फर्म नभरेको बताएका छन् ।

विद्यार्थी भर्नाका लागि मेडिकल कलेजहरूले आफ्नो सिटसङ्ख्या लिनका लागि फर्म भर्नुपर्छ । मेडिकल कलेज सञ्चालकहरूले सिटसङ्ख्या निर्धारणको आधार सार्वजनिक गर्नुपर्ने र शुल्क बढाउनुपर्ने माग गर्दै मेडिकल शिक्षाका स्नातक(युजी) र स्थाकोत्तर तह (पिजी) तहको भर्ना लिन अस्वीकार गरिरहेका छन् ।

भर्नाबारे दुबैपक्षबिच आजसम्म ठोस छलफल हुन सकेकोको छैन । स्वास्थ्य मन्त्रालयले यो विषय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारको विषय भएकाले समाधान हुने विश्वास व्यक्त गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले यो विषय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार भएको बताए । उनले भने,“ यो विषय आयोगले हेर्छ । मन्त्रालयबाट यसमा छलफल भएको छैन ।”

आयोग भने अलमल देखिएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीले यस विषयमा अहिलेसम्म ठोस छलफल नभएको बताए । उनको बुझाईमा यो विषय मन्त्रालयले अगुवाई गर्नुपर्ने हुनसक्छ । उनले भने,“उहाँहरू(मेडिकल सञ्चालकहरू)ले माग सरकारसँग राखेको जस्तो लाग्छ ।”

आयोगले सिटसङ्ख्या निर्धारणका लागि चाहीने मापदण्ड सार्वजनिक गर्ने तयारी भने गरेको छ । यद्यपी यो शैक्षिक शत्रका लागि कुन विषय हेरेर निर्धारण गरियो भन्ने विषय भने सार्वजनिक नगर्ने आयोगको भनाई छ ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका सदस्य खुमाप्रसाद अर्यालले भने,“हामीले यो विषय उठाएको २ वर्ष भयो ।

सरकारले यो विषय समाधान गर्नुपर्छ । होइनभने यो वर्षको भर्ना अन्योलमा पर्नसक्छ ।” उनले निजी र सरकार मेडिकल कलेजलाई केका आधारमा भेदभाव गरियो स्पष्ट पार्नुपर्ने बताए । उनले भने,“ केका आधारमा सरकारी मेडिकल कलेजको सिटसङ्ख्या तोकियो र निजीको रोकियो । यो मापदण्ड सार्वजनिक गर्नुपर्छ । ”

एसोसिएसनले सिट निर्धारण प्रक्रियामा पारदर्शिता नअपनाइएको र चिकित्सा शिक्षा ऐनअनुसार वार्षिक शिक्षण शुल्क पुनरावलोकन लागू नभएको भन्दै स्नातक (युजी) तथा स्नातकोत्तर (पिजी) तहको विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ ।

एसोसिएसनले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू सम्बोधन नभएसम्म भर्ना प्रक्रिया अगाडि नबढाउन चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको थियो । एसोसिएसनले आयोगबाट गत असोज ३० गते (२०८३०६/३०) जारी गरिएको सिट निर्धारणसम्बन्धी सूचनाका सन्दर्भमा सिट निर्धारणका लागि अवलम्बन गरिएको मापदण्ड, मूल्याङ्कनका सूचकहरू, प्रत्येक सूचकको भार, गणना विधि तथा प्रत्येक शिक्षण संस्थाले प्राप्त गरेको मूल्याङ्कन विवरण सार्वजनिक गर्न पनि एसोसिएसनले माग गरेको छ ।

एसोसिएसनले विज्ञप्तिमा भनेको थियो, “प्रत्येक शिक्षण संस्थाको ‘इन्डिभिजुअल कलेज स्कोर कार्ड’ उपलब्ध गराई प्रत्येक सूचकमा प्राप्त अङ्क, कुल प्राप्ताङ्क तथा सिट वृद्धि, यथावत् कायम वा कटौती गरिनुको स्पष्ट आधार र कारण आयोगको आधिकारिक वेबसाइटमा २४ घण्टाभित्र सार्वजनिक गर्न एसोसिएसन अनुरोध गर्दछ ।”

यस्तै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधनसहित) को नियम २३ मा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको शिक्षण शुल्क निर्धारण तथा पुनरावलोकन सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था रहेको एसोसिएसनले स्मरण गराएको छ ।

एसोसिएसनले सम्बन्धित निकायसमक्ष तीन बुँदे माग प्रस्तुत गर्दै शैक्षिक सत्र २०८३÷०८४ का लागि अवलम्बन गरिएको मापदण्ड, मूल्याङ्कनका सूचकहरू, भार, गणना विधि तथा प्रत्येक शिक्षण संस्थाको स्कोर कार्डसहितको विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेको छ ।