अर्थमन्त्री वाग्लेलाई एमाले सांसद कँडेलको प्रश्नः ‘समुन्नत नेपालको कार्ययोजना खोइ ?’


काठमाडाैँ । नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले भारतसँग ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा भिजन बनाउने विषय उठे पनि नेपालको आफ्नै कार्ययोजना स्पष्ट नभएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा उनले भारत भ्रमणबाट फर्किनुभएका अर्थमन्त्रीसँग नेपालको दीर्घकालीन विकास रणनीतिबारे प्रश्न गरेका हुन् ।

भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्यसहित विस्तृत कार्ययोजना तयार गरेको उल्लेख गर्दै कँडेलले नेपालले अघि सारेको ‘समुन्नत नेपाल’ को अवधारणाको आधार र कार्यान्वयन योजना कहाँ छ ? भन्ने प्रश्न गरे ।

उनले राष्ट्रिय योजना आयोगसँग समेत यसबारे बुझ्दा ‘समुन्नत नेपाल’ सम्बन्धी नयाँ दस्तावेज नरहेको जानकारी पाएको बताए । यसअघि सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा १५ औँ र १६ औँ योजनामा समेटिएको उल्लेख गर्दै उनले त्यसलाई छाडेर नयाँ अवधारणा अघि सार्नुको औचित्यबारे स्पष्ट पार्न आग्रह गरे ।

कँडेलले भारत भ्रमणका क्रममा भएका सहमति तथा छलफलका विषयमा पनि अर्थमन्त्रीसँग जवाफ माग गरे । भैरहवा विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध गराउने विषयलाई सकारात्मक रूपमा लिँदै उनले भारतीय सञ्चारमाध्यममा आएको नेपालको १५० किलोमिटर भूमि भारतले किनेको भन्ने समाचारको सत्यताबारे स्पष्ट पार्न आग्रह गरे ।

त्यस्तै, बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा भइरहेको चर्चाबारे पनि सरकारको धारणा माग गरेका हुन् । उनले सुनकोशी–सप्तकोसी आयोजना र यसअघि चर्चामा रहेको सुनकोसी–कमला डाइभर्सन आयोजनाबिचको सम्बन्धबारे समेत अर्थमन्त्रीसँग स्पष्ट पार्न आग्रह गरे ।

भारतसँगको १८४ अर्ब रुपैयाँ ऋणको विषयमा त्यसको अवधि, ब्याजदर र भुक्तानीका शर्तबारे जानकारी माग गरेका छन् । भारतीय रूपैयाँमै भुक्तानी गर्ने व्यवस्थालाई सकारात्मक रूपमा लिँदै उनले ऋणको वित्तीय पक्षबारे विस्तृत जानकारी आवश्यक रहेको बताए ।

भारत भ्रमणका क्रममा भएका विषयमा आधिकारिक जानकारी र सञ्चारमाध्यममा आएका समाचारबीच फरक हुनसक्ने उल्लेख गर्दै कँडेलले अर्थमन्त्रीबाट वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा व्यक्त गरे।