काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले आफ्ना कर्मचारी तथा विज्ञहरूको तलबभत्ता वृद्धिको विवरण गोप्य राख्न नमिल्ने भएको छ ।
उक्त विवरण उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले दिएको आदेशविरुद्ध प्रतिष्ठानले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएपछि आयोगको पुरानै आदेश कार्यान्वयन हुने बाटो खुलेको हो ।
सर्वोच्च अदालतका न्यायाधीस अव्दुल अजिल मुसलमान र श्रीकान्त पौडेलको इजलासले राष्ट्रिय सूचना आयोगको आदेश विरुद्ध तिलगंगाको रिट सोमबार खारेज गरेको हो ।
रिट खारेजसँगै २०८१ साउन २३ गते न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले जारी गरेको अन्तरिम आदेशसमेत स्वतः निष्क्रिय भएको छ ।
अब प्रतिष्ठानले सूचना मागकर्ता एवं सोही प्रतिष्ठानको एकेडेमिक एन्ड ट्रेनिङ डिपार्टमेन्टका भाइस प्रिन्सिपल चन्द्र बहादुर थापा क्षेत्रीलाई माग गरिएका विवरण उपलब्ध गराउनुपर्ने भएको ।
विवादको सुरुवात २०८१ वैशाख २३ गते भाइस प्रिन्सिपल थापा क्षेत्रीले प्रतिष्ठानसमक्ष सूचना माग गर्दै निवेदन दिएपछि भएको थियो ।
कानुनी समयसीमाभित्र सूचना नपाएपछि थापाले २०८१ जेठ २ गते राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका थिए ।
आयोगले लिखित जवाफ माग गरेपछि प्रतिष्ठानले जेठ १८ मा जवाफ पठाउँदै जेठ २४ गते दिन मिल्ने जति विवरण उपलब्ध गराएको जानकारी दिएको थियो । तर, पूर्ण विवरण नपाएको ठहर गर्दै आयोगले २०८१ असार १७ गते कर्मचारीको व्यक्तिगत बैंक खाता विवरण बाहेक माग गरिएका अन्य सम्पूर्ण विवरण ३० दिनभित्र उपलब्ध गराउन प्रतिष्ठानका कार्यालय प्रमुखका नाममा आदेश जारी गरेको थियो ।
आयोगको उक्त आदेश खारेज गर्न माग गर्दै प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले २०८१ साउन २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चबाट उक्त रिट खारेज भएसँगै अब प्रतिष्ठानले निवेदक थापा क्षेत्रीलाई २०७८ सालको भाद्र, २०७८ सालको पुस र २०७९ सालको श्रावण महिनामा सम्पूर्ण कर्मचारी तथा विज्ञहरूको तहगत रूपमा वृद्धि भएको तलब र वितरित अन्य अतिरिक्त भत्ताको आधिकारिक प्रमाणित विवरण उपलब्ध गराउनुपर्नेछ ।
यसका साथै २०७८ सालको पुस महिनामा तलबभत्ता तथा अतिरिक्त भत्ता वृद्धि गर्नेसम्बन्धी कार्यकारिणी समितिले गरेको आधिकारिक निर्णयको प्रतिलिपिसमेत दिनुपर्ने भएको छ । यद्यपि, आयोगको आदेशबमोजिम कर्मचारीको व्यक्तिगत बैंक खाता विवरण भने दिनुपर्ने छैन ।
सर्वोच्चमा दायर रिटमा प्रतिष्ठानले आफू एक गैरसरकारी संस्था (एनजीओ) भएकाले सरकारी निकायसरह कर्मचारीको तलब विवरण सार्वजनिक गर्न बाध्य नहुने जिकिर गरेको थियो ।
कर्मचारीको तलबभत्ता सार्वजनिक गर्दा संविधानको धारा २८ अन्तर्गतको ‘आर्थिक गोपनीयताको मौलिक हक’ हनन हुने, संस्थाको ‘कर्मचारी सेवा, सर्त विनियमावली, २०७५’ अनुसार गोप्य राख्नुपर्ने र कर्मचारी युनियनको आडमा ‘बार्गेनिङ’ गर्न सूचना मागिएको प्रतिष्ठानको दाबी थियो ।
साथै, पहिले कार्यालय प्रमुखसमक्ष उजुरी नदिई सिधै आयोगमा गएर कानुनी प्रक्रिया मिचिएको तथा साल्ट ट्रेडिङ कर्पोरेसनको यस्तै मुद्दामा आयोगको आदेश बदर भएको नजिरसमेत प्रतिष्ठानले पेस गरेको थियो।
तर, सर्वोच्च अदालतले प्रतिष्ठानको रिट खारेज गरेसँगै कर्मचारीको तलबभत्ता गोप्य राख्ने प्रतिष्ठानको प्रयास असफल भएको छ ।
यो आदेशले सार्वजनिक सेवा प्रवाह गर्ने गैरसरकारी संस्था तथा सामुदायिक अस्पतालका कर्मचारीहरूको तहगत तलबभत्ता गोप्य नहुने र यस्ता संस्थाहरू पनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दायराभित्र रही पारदर्शी हुनुपर्ने नजिरलाई थप बलियो बनाएको छ ।
सर्वोच्चको फैसलापछि पनि यदि प्रतिष्ठानले सूचना दिन आलटाल गरेमा सूचनाको हकसम्बन्धी ऐनको दफा ३२ बमोजिम कार्यालय प्रमुखलाई जरिवाना तथा विभागीय कारबाही हुन सक्ने कानुनी व्यवस्था छ ।
राष्ट्रिय सूचना आयोगका अधिकारीहरूले आफूहरूले यसबारे प्रारम्भिक जानकारी भएकाले थप बुझ्ने बताए ।
आयोगका उच्च अधिकारीले भने,“कारबाहीपछि सम्बन्धित व्यक्ति ३५ दिनभित्र सर्वोच्च अदालत जान सक्ने ऐनमा व्यवस्था छ तर आदेश विरुद्ध नै सर्वोच्च जाने व्यवस्था छैन । तिलगंगा आदेश विरुद्ध नै सर्वोच्च अदालत गएको देखिन्छ । अब रिट खारेज भएपछि आदेश कार्यान्वयन गर्नुको विकल्प छैन ।”


प्रतिक्रिया दिनुहोस्