प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानून निर्माण गर्न थाल्यौँ भने ठूलो दुर्घटनामा पर्छौँः मन्त्री तिमिल्सिना


काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्नेगरी ऐन निर्माण गर्न लागिएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवद्र्धनका साथै आर्थिक विकासमा योगदान पुर्याउने उद्योगको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थाहरूको अवस्था बेहाल रहेको उल्लेख गर्दै संस्थागत सुधार र नेतृत्वको क्षमता विकासमा दिए । उनले चलचित्रको क्षेत्रको विकासका लागि संस्थाको अध्यक्ष क्षमातावान हुनुपर्नेमा जोड दिँदै उहाँले सोहीअनुसार योग्यता तय गरिनुपर्ने समेत बताए ।

चलचित्र क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबिच अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्ने उनको भनाइ छ । संघीयताअनुसार अधिकार बाँडफाँड गरेर मात्र प्रभावकारी काम हुन नसक्ने भन्दै उहाँले तीन तहको सरकार एकअर्काका परिपूरक हुनेगरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

संघीयताको मर्मअनुसार तल्लो तहमा समेत अधिकार दिनैपर्छ भनेर कानून निर्माण गर्न थालियो भने देश ठूलो दुर्घटनामा पर्ने उनको तर्क छ ।