उद्योग मन्त्री बनेको ३ महिनाभित्रै विराटनगर जुट मिल सञ्चालनमा ल्याउन निर्णायक पहल


काठमाडाैँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर जुट मिल’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल थालेका छन्।

लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज रणनीतिक लगानीकर्ताका लागि आशयपत्र आह्वान गरेको छ।

मन्त्रालयको नीतिगत सहजीकरण र मन्त्री साहको विशेष सक्रियतामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत मिल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो।

जारी सूचनाअनुसार मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि अनुभवी तथा आर्थिक रूपमा सबल स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरिएको छ।

यस्ता छन् मुख्य विशेषता र योजनाहरू:

  • उत्पादन र रोजगारी: मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा ५,००० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ।
  • दीर्घकालीन लिज र जग्गा: विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइनेछ।
  • लगानीकर्तालाई विशेष सुरक्षा: मिलका पुराना वित्तीय, प्रशासनिक तथा श्रम दायित्वहरूको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको सहयोगमा मिल व्यवस्थापनले नै लिने (Ring-fencing) व्यवस्था गरिएको छ, जसले गर्दा नयाँ लगानीकर्तालाई विगतको ऋण वा दायित्वको कुनै भार पर्ने छैन।
  • सरकारी सहुलियत: लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ बमोजिम मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा र सुरुवाती वर्षहरूमा लिज भाडामा सहुलियत पाउनेछन्।

सन् १९३६ (वि.सं. १९९३) मा स्थापित नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीका कारण पटक–पटक बन्द हुँदै आएको थियो। उद्योग मन्त्री ई. साहले मन्त्रालयको नेतृत्व सम्हालेसँगै बन्द उद्योगहरूको पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राख्दै मन्त्रिपरिषद्स्तरबाटै नीतिगत निर्णय गराएर आशयपत्र खुलाउने वातावरण तयार पारेका हुन्।

आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्रै छनोट भएका योग्य रणनीतिक लगानीकर्तासँग समझदारीपत्रमा हस्ताक्षर गरी मिल सञ्चालनको कामलाई तीव्रता दिने योजना रहेको छ।