काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापना गर्ने विषयमा छलफल गरेकी छन्।
भेटमा टमाटर प्रशोधन युनिट स्थापनाको कार्यविधि, आवश्यक बजेट विनियोजन तथा निजी क्षेत्रको लगानी र सहभागिताका सम्भावनाबारे छलफल भएको सांसद कार्कीले बताएकी छन्।
सर्लाही टमाटर उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक हो। सर्लाहीमा मात्र २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा टमाटर खेती गर्ने गरिएको छ ।
राष्ट्रिय कृषि गणना २०७८/७९ ले सर्लाहीमा ३ हजार १९७ कृषि घरधुरीले ६८०.२ हेक्टरमा टमाटर खेती गरेको देखाएको छ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी, नवलपुर, अत्रौली, हरिपुर, हिरापुरलगायत क्षेत्रमा व्यावसायिक रूपमा टमाटर उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित टमाटर काठमाडौंसहित देशका विभिन्न ठूला बजारमा आपूर्ति हुने गरेको छ।
उत्पादनको समयमा बजारमा टमाटरको मूल्य घट्ने, भारतीय टमाटरसँग प्रतिस्पर्धा गर्नुपर्ने तथा तत्काल बिक्री गर्नुपर्ने बाध्यताका कारण किसानले उचित मूल्य नपाउने समस्या देखिँदै आएको छ।
लालबन्दीबाट मात्रै दैनिक ठूलो परिमाणमा टमाटर काठमाडौंको कालीमाटीलगायत बजारमा पुग्ने गरेको विवरण छ।
यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय उत्पादनलाई प्रशोधनमार्फत मूल्य अभिवृद्धि गर्ने र बजारको मागअनुसार टमाटरको विभिन्न परिकार तथा प्रशोधित वस्तु उत्पादन गर्ने उद्योग आवश्यक रहेको सांसद कार्कीले बताएकी छन्।
उनका अनुसार स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्दै किसानको आम्दानी बढाउन र टमाटरको आयात प्रतिस्थापन गर्न प्रशोधन उद्योग महत्त्वपूर्ण हुनेछ।
“उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्म किसानलाई जोड्नु नै हाम्रो प्राथमिकता हो,” कार्कीले भनेकी छन्।
उनले सर्लाहीमा टमाटर प्रशोधन युनिट स्थापना गर्न सरकारको बजेट तथा नीतिगत सहयोगसँगै निजी क्षेत्रको लगानी र सहभागिता आवश्यक रहेको बताएकी छन्।


प्रतिक्रिया दिनुहोस्