प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री, राजनीतिक आस्था र निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । 

पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

गलत क्रियाकलाप गर्ने सबैलाई कानूनी दायरा ल्याउनुपर्ने उनले बताए । काँग्रेसका नेता तथा कार्यकर्ताले गलत गरेको भएमा आफूहरु कारबाही गर्न सहयोग गर्ने तर पूर्वाग्रह वा दुराग्रह राखेमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

काँग्रेसमा आवद्ध भएकै आधारमा केही नेताहरुलाई राज्यबाट पूर्वाग्रह, दूराग्रह वा अत्याचारको शिकार बनाउन खोजिएको शंका पैदा भएको उनको भनाइ छ ।

उनले सत्तारुढ दल रास्वपाका नेता तथा कार्यकर्ताको हकमा पनि यही सिद्धान्त लागू हुनुपर्ने बताए । सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने काम काँग्रेसले नगर्ने उनको भनाइ छ ।

तर प्रधानमन्त्री, प्रधानमन्त्रीको टिम वा रास्वपा सभापतिको निकटताका आधारमा कसैले पनि राज्यबाट अतिरिक्त सुविधा वा कानूनी छुट पाउन नहुने उनले बताए । राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिने प्रवृत्तिको काँग्रेसले सधै विरोध गर्ने उनको भनाइ छ ।

उनले भने, “काँग्रेस छ, गलत गरेको छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा केही पनि पाउनु हुँदैन । तर गलत गरेको छैन तर काँग्रेस छ, उसले कुनैपनि खालको राज्यको दूराग्रह, राज्यको अत्याचार, राज्यको पूर्वाग्रहको शिकार पनि हुनुहुँदैन । र यही कुरा रास्वपाको हकमा पनि लागू हुन्छ । कोही साथी रास्वपामा लाग्नुभएको छ, अहिले सरकारको समर्थक हुनुहुन्छ । त्यसकारणले गर्दाखेरि कुनै कहीँ बाहिर आएको सार्वजनिक टिप्पणीको आधारमा नेपाली कांग्रेस हामी उसलाई अपराधी करार गर्दै हिँड्दैनौँ । अपराधी, कोही मान्छे अपराधी हो कि होइन भन्ने काम हाम्रो होइन । कुनै नेताको बारेमा, कुनै मन्त्रीका बारेमा, कसैका बारेमा, रास्वपाका नेताका बारेमा केही कुरा आयो भन्दैमा हामी भन्दै हिँड्दैनौँ, काँग्रेसको क्यारेक्टर यो होइन । तर हामी सँगसँगै फेरि के भन्छौँ भने कोही मान्छे रास्वपाको नजिक छ वा प्रधानमन्त्रीको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपाको सभापतिजीको टिममा छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा पाउँदैन, उसले छुट पाउनु हुँदैन । त्यो कुरामा हाम्रो प्रश्न रहन्छ, हाम्रो विरोध रहन्छ, हाम्रो असहमति रहन्छ ।”

उनले काँग्रेसको सबैभन्दा ठूलो शक्ति नै नैतिक पुँजी भएको बताउनु भयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो राजनीतिक विरासत र आचरणप्रति जिम्मेवार बन्न पनि आग्रह गरे ।

वीपी कोईराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टी भएकाले कांग्रेसले नैतिक धरातल कमजोर हुन दिन नहुने उनको भनाइ छ ।

उनले हरेक सार्वजनिक व्यक्तिको जीवन पारदर्शी हुनुपर्ने बताउनु भयो । उहाँले सरकारले आवश्यक ठानेमा आफूहरु अनुसन्धान र छानबिनको सामना गर्न तयार रहेको पनि बताए ।

पार्टी सभापतिका रूपमा आफ्नो कारणले कुनैपनि काँग्रेस सदस्यले शीर निहुराउनुपर्ने अवस्था आउन नदिने उनले प्रतिवद्धता जनाए । साथै पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय वा राजनीतिक पूर्वाग्रह भएमा त्यसविरुद्ध काँग्रेस उभिने उनको भनाइ छ ।

उनले विपक्षी दलका रूपमा काँग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्नुपर्नेमा पनि जोड दिए । सुकुम्बासी समस्या, प्राकृतिक विपद्मा परेका नागरिकको अवस्था, सहकारी पीडितको रकम फिर्ता गर्ने सरकारी प्रतिवद्धता तथा दलित समुदायसँग सम्बन्धित घोषणाको कार्यान्वयनबारे सरकारलाई जवाफदेही बनाउनुपर्ने उनले बताए ।

सरकारले घोषणा गरेर ताली पाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई विपक्षी दलले निरन्तर प्रश्न गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले गरेका हरेक गलत क्रियाकलातको अध्ययन गर्नुपर्ने बताए ।

उनले भने, “सुकुम्बासीको विषय छ, प्राकृतिक विपद्मा परेका मान्छेहरूको बिजोगको विषय छ, सहकारी पीडितहरूको रकम फिर्ता गर्ने भनेको छ । तपाईंहरूले अब हेर्नुप¥यो, सरकारले १०० दिनमा गर्ने काम भनेर घोषणा ग¥यो, दलितसँग माफी माग्नेदेखि लिएर के के घोषणा गरेको छ यहाँ ? उसले घोषणा ग¥यो, घोषणा गरेको दिन ताली पायो । अनि अहिले सम्झाउने काम हाम्रो हो नि । यत्रा काण्डहरू छन्, अहिले हेर्नुस् त प्राइम मिनिस्टर अफिसको दुरुपयोग गरेर भएका काण्डहरू, यी काण्डहरूका बारेमा तपाईँहरूले एक–एक कुरा पढ्नुपर्छ, यसलाई बुझ्नुपर्छ, मनन गर्नुपर्छ र एकदम निर्धक्क भएर तल साथीहरूको बिचमा लगेर नेपाली काँग्रेस प्रतिपक्षको भुमिका सशक्त ढङ्गले निर्वाह गर्न तयार भएको सन्देश तपाईँहरूले तल लिएर जानुपर्छ ।”

उनले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पती छानबिन गर्न सरकारलाई आग्रह गरे । आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पती छानबिन होस् भन्नेमा रहेको उनको भनाइ छ ।