महासंघले भन्यो, ‘नीतिगत अस्थिरताले पूँजी बजारमा उतारचढाव’


काठमाडौं । पूँजी बजारमा देखिएकाे समस्याप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । महासंघले सोमबार प्रोस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा पूँजीबजारमा देखिएको उतावचढावको कारण अस्थिर नीतिसमेत रहेको जनाएको हो ।

“मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ,” विज्ञप्तिमा भनिएको छ, “केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पूँजीबजारमा उतार चढाव आएको महसुस गरिएको छ ।”

मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु जस्ता विषयले सेयरबजारमा नकारात्मक प्रभाव पारेको महासंघको तर्क छ । “विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूँजी बजार ओरालो लाग्दा आम लगानीकर्तालाई समेत सशंकित बनाएकोप्रति महासंघले चासो व्यक्त गर्दै नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने व्यवासायीहरुको मागप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

“पूँजीबजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “पूँजीबजारमा जोखिम पनि रहने हुंदा लगानीकर्ताहरुलाई आपूmले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघ आग्रह गर्दछ ।”

संस्थागत लगानीकर्ताहरुको संख्या विस्तारमा महासंघको जोड छ । बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकाय समक्ष महासंघले माग गरेको छ ।

कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परे तापनि पूँजीबजार गतिशील रहनु भने सकारात्मक रहेको महासंघको धारणा छ ।

“नेपालको पूँजीबजारमा भने यस अवधिमा गतिशील रही पुँजीबजारको इतिहासमा सर्बाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास बढायो जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो,” विज्ञप्तिमा उल्लेख छ ।

बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहंदा धेरै लगानीकर्ताले अवसर पाएको महासंघले जनाएको छ । डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्पmको आकर्षण बढ्दै बढेको संकेत रहेको जनाएको छ ।