उद्योगले ‘नो रिटर्न’को अवज्ञा गरे कारबाही गर्ने डेरी उद्योग संघको चेतावनी


काठमाडौँ । डेरी उद्योगहरुले नो रिटर्नको अवज्ञा गरे कारबाही गर्ने डेरी उद्योग संघले चेतावनी दिएको छ । संघले मंगलबार एक विज्ञप्ती जारी गर्दै उद्योगहरुलाई तोकीएको मापदण्ड पूर्ण रुपमा पलना गर्न र नो रिर्टनको अवज्ञा नगर्न सचेत गराएको हो ।

विस २०७४ सालदेखि राष्ट्रिय दुग्ध विकास बोर्ड, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका सबै सरोकारवालाहरुको सहमतिमा डेरी उद्योगहरुमा ‘नो रिर्टन’ पद्धति लागू भएको थियो ।

“सबै सरोकारवालाहरुको सहमतिमा डेरी उद्योगहरुमा नो रिर्टन पद्धति लागू भएको र यसैको अनुसरण गर्दै दूध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण हुदै आएको व्यहोरा विदीतै छ,” संघका अध्यक्ष राजकुमार दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, “हालै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट केहि उद्योगहरुमा अनुगमन हुदा नो रिर्टन पद्धतिको छिटपुट उल्लङ्घन भएको पाइएकाले सबै उद्योगले कडाइका रुपमा नो रिर्टन पद्धति लागू गर्न गराउन हुन सूचित गरीन्छ ।”

संघले नो रिर्टनको अवज्ञा र तोकीएको मापदण्ड पुरा नगर्ने उद्योग उपर हदै सम्मको कारवाही गर्ने जनाएको छ ।