‘नाडा अटो शाे २०२४’ भदौ ११ गतेदेखि हुने,यस्तो छ इतिहास


काठमाडौँ । यस वर्षको नाडा अटो शो आगामी भदौ ११ गतेदेखि हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको गत सोमबार बसेको कार्यसमिति बैठकले हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शाे २०२४ भदौ ११ गतेदेखि १६ गतेसम्म गर्ने निर्णय गरेको हो ।

अटो शोका लागि आवश्यक तयारी सुरू गर्न नाडाले स्टल बुकिङका लागि रजिष्ट्रेसन समेत खुला गरेको छ । नाडा अटो शो २०२४ मा सहभागी हुन चाहने कम्पनीहरूले जेठ ३१ गते बिहीबार देखि असार ५ गते बिहीबार सम्म रजिष्ट्रेसन गर्न सक्ने छन् । त्यसपछि लट्री ड्रद्वारा स्टल छनोट गरिने छ ।

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहने नाडाले जनाएको छ ।

यस्ताे छ अटाे शाे काे इतिहास ?
नाडा अटोमोबाइल्स एशोसिएशनले पहिलो अटो सन् १९९८ मा सम्पन्न गरेको थियो । जुन शोमा २६ प्रदर्शक सहभागी भएका थिए । भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित सो अटो शो, नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा आयोजना गरेका थिए ।

त्यस्तै दोस्रो अटो शो सन् २००० को नोभेम्बर २२ देखि २६ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गरिएको थियो । त्यतिबेला ३१ कम्पनीले सहभागिता जनाएका थिए ।

तेस्रो अटो शो सन् २००४ को फ्रेब्रुअरी १८ देखि २२ गतेसम्म वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको उक्त मेलामा ६२ ब्रान्डको सहभागिता रहेको थियो ।

चौथो अटो शो करिब तीन वर्षको फरकमा सन् २००७ मा २७ सेप्टेम्बरबाट १ अक्टोबरसम्म सञ्चालित उक्त मेला २० कम्पनीको सहभागिता रहेको थियो ।

त्यसैगरि पाँचौँ अटो शो सन् २००९ को अगस्ट २८ बाट १ सेप्टेम्बरसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा जम्मा ३२ ब्रान्डको सहभागिता रहेको थियो ।

छैटौँ अटो शो सन् २०११ को सेप्टेम्बर ७ बाट ११ सम्म आयोजित अटो शोमा सहभागी हुने कम्पनीको संख्या ३८ रहेको थियो ।
सातौँ अटो शो सन् २०११ बाट एशोसिएसनले नेपालमा प्रत्येक वर्ष अटो शो आयोजना गर्ने निर्णय गर्याे । सोहीअनुरुप २०१२ को सेप्टेम्बर १९ बाट २३ सम्म आयोजित सातौँ अटो शोमा ५५ कम्पनीको सहभागिता रह्यो ।

आठौँ अटो शो २०१३ सेप्टेम्बर ११ बाट १५ सम्म आयोजित आठौं अटो शोमा ४० कम्पनीको सहभागिता रहेको थियो । त्यतिबेला नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनले मात्रै अटो शो सञ्चालन गरेको थियो । नवौँ अटो शो २०१४ को सेप्टेम्बर ३ बाट ८ सम्म सञ्चालन भएको थियो । अटो शोमा ५० कम्पनीको सहभागिता रहेको थियो ।

दशौँ नाडा अटो शोबाट सहभागी हुने कम्पनी तथा उपभोक्ताका संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१५ को सेप्टेम्बर १५ बाट २० सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा ६५ कम्पनीको सहभागिता रहेको थियो ।

एघारौँ अटो शो सन् २०१६ को ३० अगस्टबाट ४ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा भने ७४ कम्पनीको सहभागिता रहेको थियो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको शोमा हजारौँ उपभोक्ताको सहभागिता रहेको थियो ।बाह्रौँ अटो शो २०१७ मा २९ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा ८३ कम्पनीको सहभागिता रहेको थियो ।

तेह्रौ नाडा अटो शो २०१८ भदौ २६ गतेदेखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना भयो । उक्त मेलामा १९ वटा ब्राण्डका चारपाङ्ग्रे २० वटा ब्राण्डका दुईपाङ्ग्रे सवारीसाधनहरु रहेका थिए ।

त्यस्तै नाडा अटोमोबाइल्स एशोसिएशनले १४ औँ संस्करण मेला पनि उत्साहजनक नै रहेको थियो । २०७६ भदौँ १० गतेदेखि १५ गतेसम्म नाडा अटो शोको १४ औँ सस्करण मेला भएको थियो उक्त वर्षको मेलामा ९५ वटा स्टलहरू रहेका थियो भने करिब ७५ हजारको संख्यामा अवलोकनकर्ताहरूले मेला अवलोकन गरेका थिए ।

जुन कोभिड १९ को महामारी र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्ध अघिको अन्तिम शो को रूपमा रहेको थियो । त्यसपछि करिब चार वर्षपछि २०८० सालमा आएर नाडा अटाे शाे भएकाे थियाे । जसमा विगतभन्दा उत्साहजनक रूपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका थिए।