पालिकाको खर्च मासिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन सुनकोशी एमालेको ध्यानाकर्षण


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको नेकपा एमाले कमिटिले बजेटमा पालिकाको विभिन्न क्षेत्रमा बजेट राख्न र पारदर्शिता देखाउन माग गर्दै गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

एमाले सुनकोशी गाउँपालिका कमिटि अध्यक्ष गाेरख खड्रका सहितको टोलीले सुनकोशी गाउँपालिका अध्यक्षलाई पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

एमाले जिल्ला सदस्य ध्रुव नारायण लामाले सुनकाेशी गाउँपालिकालार्इ एमालेले विभिन्न सेवा, सुविधा र विकासकाे माग राख्दै ध्यानाकर्षण गराएकाे बताए ।

ध्यानाकर्षण पत्रमा एमालले पालिकाको खर्च मासिक रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन उल्लेख गरेकाे छ ।

यस्तै, स्वास्थ्य बिमा निशुल्क गर्न, रामटारमा आँखा केन्द्र बनाउन, परम्परागत रैथाने वाली संरक्षण गरी उत्पादन बजारीकरण गर्न र आय आर्जनमा जनतालाई जोड्न ध्यानाकर्षण गराएको छ ।

कृषि क्षेत्रमा असर पार्ने बाँदर, दुम्सी, फौजी किरा तथा विभिन्न वन्यजन्तुबाट पुर्याएको असरलाई कानुन बनाउन संघीय तथा प्रदेश सरकारमा पठाउनका साथै नियन्त्रण तथा क्षतिपुर्तिको प्रबन्ध गर्न र पशु बिमालाई निरन्तर गर्ने व्यवस्थासँगै निशुल्क गर्न ध्यानाकर्षण गराएको छ ।

एमाले गाउँपालिका कमिटिले पालिकालाई सामाजिक विकास, पर्यटन विकास, रोजगार, शिक्षा, कृषि तथा पशुपंक्षी, वन वातावरण तथा विपद् नियन्त्रण, स्वास्थ्य, भौतिक पूर्वाधार, सिञ्चाई तथा खानेपानी, खेलकुद र सुशासन क्षेत्रलाई गहनरुपमा लिई काम कारबाही गर्नको लागि पनि ध्यानाकर्षण गराएको छ ।