ब्रिकेट,प्यालेट उद्योगको कच्चा पदार्थमा निकासी कर घटाएर सरकारले नेपाली उद्योग समाप्त गर्ने षड्यन्त्र गर्‍यो: जैविक उर्जा व्यवसायी संघ


काठमाडाैँ । जैविक उर्जा व्यवसायी संघ नेपालले सरकारले बजेटमार्र्फत ब्रिकेट,प्यालेट उद्योगको कच्चा पदार्थमा निकासी कर घटाउनु नेपाली उद्योग समाप्त गर्ने षड्यन्त्र भएको बताएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सरकारले ब्रिकेट,प्यालेट उद्योगको कच्चा पदार्थमा निकासी कर घटाएको कर विगतकै कायम गर्न माग गरेको हो ।

संघले दाउरा, वनमारा, ब्रिकेट र प्यालेटमा विगतमा दिइएको भ्याट छुट खारेज गर्दा राष्ट्रिय उद्योगको लागत बढेर औधोगिक इन्धनको आयात प्रतिस्थापनको सम्भावना समाप्त हुने बताएको छ ।

संघका अध्यक्ष सुशिल ज्ञवालीले सरकारले बजेटमार्फत ब्रिकेट,प्यालेट उद्योगको कच्चा पदार्थमा निकासी कर घटाउनु नेपाली उद्योग समाप्त गर्ने षड्यन्त्र गरेको बताए ।

उनले तयारी उत्पादनलाई पुनः आयात गर्न सहज हुनेगरी पैठारी घटेको अवस्थामा सरकारले गरेको विभेदकारी नीतिले भर्खरै सञ्चालनमा आउने ब्रिकेट र प्योलेट लगायतका वन पैदवार आधारित उद्यमहरु बन्द हुने भन्दै यसले समृद्ध मुलुकको आकंक्षा पूरा हुन नसक्ने उल्लेख गरे ।

तापीय उर्जाको लागि ब्रिकेट, पेलेट उत्पादन गरी बाहिरबाट आयात हुने पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्ने स्वदेशी उद्योगलाई सरकारले बजेट मार्फत समाप्त पार्न खाजेको उनकाे भनाइ छ । 

उनले ब्रिकेट,प्यालेट उद्योगबाट आगामी १० वर्षभित्र औधागिक प्रयोजनको लागि नेपालमा आयात हुने फर्नेस आयल र डिजेल, पत्थर कोइलाको प्रतिस्थापन गरी नेपाली वायोमासबाट हुने सम्भावना रहेको बताए ।

नेपालमा उपलब्ध हुने वायोमासको उपयोग गरी बनाउने ब्रिकेट तथा प्यालेट बाहिरी देशमा निर्यात गर्न सक्ने समेत ठूलो सम्भावना रहेको उनले उल्लेख गरे ।

उनले ब्रिकेट र प्यालेटमा पहिलो पटक सरकारले भ्याटको भार थपिँदा व्यवसायीहरुमा निराशा छाएको बताए । भारतबाट आयात हुने ब्रिकेट,प्यालेटको भ्याट तथा भन्सार शुल्क सतप्रतिशत छुटको व्यवस्थाले नेपाली उद्यमीहरुले भारतबाट आयात भएका ब्रिकेट,प्यालेटसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था बनेको उनकाे भनाइ छ ।