२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँः  महेश बर्तौला


काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ ।

मंगलवार प्रनिधिसभा बैठकको शुन्य समयमा प्रमुख सचेतक बर्तौलाले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भएपनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रुपमा भएपनि सर्वसाधरणको पहुँचमा नआएको बताए ।

उनले अहिलेसम्म हेर्दा विभिन्न खालका संसदका अभिलेखहरुलाई व्यवस्थित रुपमा सर्वसाधरणले सजिलै पाउन नसकेको उल्लेख गरे ।

संसदका समग्र गतिविधिहरुलाई वेशसाइटमार्फत सजिलै हेर्नसक्ने गरी वेबसाइटमा ल्याउन उनले माग गरे । २००८ देखिका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसदको समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ ।

उनले संसदीय गतिविधिलाई ऐतिहासिक सम्पतीको रुपमा सर्वसाधरणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए ।