काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिनुपर्ने कुराहरूमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले भने, “घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठूलो संख्यामा रोजगारीका रूपमा यो क्षेत्रमा आवद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छ ।”
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताउँदै उनले भने, “अहिले हामीले उत्पादनको अवस्था के छ, रोजगारीको अवस्था के छ, समस्याहरू के छ एकपछि अर्को जानकारी लिने र छलफल गर्ने काम भइरहेको छ । हाम्रो कोशिस भनेकै तपाइहरूलाई आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ ।”
औद्योगिक तथा लगानी प्रवद्र्धन कोष सञ्चालन कार्यविधिलाई छिटो अगाडि बढाइने आश्वासन दिंदै अर्थमन्त्री पौडेलले अन्तराष्ट्रिय प्रदर्शनी, निर्यात गृह सञ्चालन गर्ने कुरामा व्यवस्थित रूपमा कसरी सञ्चालन गर्ने छलफल गर्ने बताए ।
महासंघका अध्यक्ष सिँहले मुलुकको अर्थतन्त्रको संवाहकका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरु विभिन्न कालखण्डमा विभिन्न समस्याहरूबाट प्रताडित हुँदै आएको बताउँदै पछिल्लो कालखण्डमा २०७२ को विनासकारी भूकम्प, २०७६ देखि कोरोना महामारी आदिका कारण यस्ता उद्योगहरू धरापमा परेकोतर्फ ध्यानाकर्षण गराए ।
सो अवसरमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, महासचिव डम्बर प्रसाद रेग्मी, महासंघ बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागाई, काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, महासंघका कार्यकारिणी सदस्य विनोददेव पन्त, नारायण कार्कीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्