सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी छः सांसद शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताएका छन् ।

मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालीरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रूपमा पाउने पहिलो अधिकार भएपनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखे । व्यवसायिक प्रयोजनका लागि जमिन मुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रस्ताविक व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो ।

सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताए । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराए ।

सांसद शर्माले जमिनमुनीको पानी औद्योगिक प्रयोजनको लागि निकाल्दा कर लागउने कानून फिर्ता लिन माग गरे ।