किम्ची रेस्टुरेन्टलाई काठमाडौँ महानगरले तिरायो २ लाख जरिबाना


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ ।

गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो । यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नम्बर ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखे ।

कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेन । यसकारण आज दुषित पानी विक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो ।

रेष्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा.लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो ।

खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो ।