यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


काडमाडौँ । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धि कार्ययोजना स्वीकृत गर्ने गरेको छ । मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

प्रवक्ता गुरुङले एशियाली विकास बैंकबाट सिंचाई सम्बन्धि परियोजनाको लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात नेपाली रुपैयाँ करिव १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताए ।

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त भएको जानकारी दिए । उनले नेपाल पारवहान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरिएको पनि बताए ।

उनले भूटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एशियाको १२ सम्मेलनका सन्दर्भमा सहभागीका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए । सरकारले भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड (ञ) बमोजिम संयीयत भूउपयोग परिषद्को समस्यमा चितवनका डा.रेवती रमण पौडेल , डा.यमुना घले र काठमाडौँका डा. रेश्मा श्रेष्ठ र जगतबहादुर दैजालाई मनोनयन गर्ने निर्णय गरेको छ ।