पश्चिम नेपाललाई मध्यपूर्व र युराेप जाेड्न गौतम बुद्ध विमानस्थल काेशेढुङ्गाः जजीरा एयर


काठमाडौं । कुवेतको एयरलाइन्स कम्पनी जजीरा एयरवेजले भैरहवास्थित नव निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको छ । जजिराले मध्य पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गर्दै आइराखेको छ । एयर जजिराले यसबाट मध्य पूर्व र युरोप बसोबास गर्ने ठूलाे समुदाय नेपालको दक्षिण, पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने जनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले गत जेष्ठ १ गतेबाट उड़ान सेवा शुरु गरेको हो ।

नयाँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले एयर जजिराले आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ गन्तव्यहरु थप्दै गईरहेको बताएका छन् । उनले भने, “जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ गन्तव्यहरु थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ ।

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले ७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलाे परिवर्तन ल्याउने बताए ।

उनले भने, “ यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुऱ्याउँछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।” उनले विदेशिने जनशक्तिको लागि सरकारले श्रम स्विकृति भैरहवाबाट व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उनले भने, “श्रम स्विकृति लिन काठमाडौं आउनुपर्छ अनि विदेशिनेहरु काठमाडौंबाटनै जाने भएकोले त्यसलाई सरकारले भैरहवाबाट त्यसको व्यवस्था गर्नुपर्छ ।”

यात्रु नभएका कारण कारण काठमाडौंबाट बसमा यात्रुलाई भैरहवा लगेर त्यहाबाट उडाएको सिंहले बताए । उनका अनुसार भैरहवा विमानस्थालबाट एयर जजिराको विमानमा यात्रा गर्दा अहिले २० प्रतिशतसम्म छुट दिइराखेको छ ।