सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने


काठमाडौँ । सहकारी विशेष समितिले आगामी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

भदौ ७ गते बस्ने बैठकमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिने तयारी रहेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिएका छन्।

हालसम्म जेलमा रहेका १९ जना र अपचलन भएको भनिएका सहकारीका व्यवस्थापक, सञ्चालक र पदाधिकारी गरी २० जनासँग बयान लिइसकेको छ।

बयान लिने काम अन्तिम चरणमा पुगेसँगै समितिले प्रतिवेदन लेखनको काम पनि तीव्र पारेको छ। गत जेठ १५ गते गठन भएको समितिले सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन दिन ३ महिनाको समय पाएको छ।