स्वास्थ्य करका सबै रकम बिमाका लागि विनियोजन गर्नुपर्दछः स्वास्थ्यमन्त्री पौडेल


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य बिमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था आफूहरू लागि परेको मन्त्री पौडेलको भनाइ थियो । शुक्रवार वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरूको तलवको २ प्रतिशत रकम पनि स्वास्थ्य विमा कार्यक्रममा लागि छुट्याउनुपर्ने प्रस्ताव गरे ।

स्वास्थ्य बिमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बिमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए । त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । कार्यक्रममा अवसरमा अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले आम नागरिकले चुस्त ढंगले सेवा पाउने गरी अस्पतालको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।