बुधबारदेखि काठमाडौं-वाराणसीका लागि उडान थप गर्दै बुद्ध एयर


काठमाडौं । बुद्ध एयरले बुधबारदेखि भारतको वाराणसीका लागि तेस्रो उडान थप गरेको छ । यसअघि कम्पनीले साताको सोमबार र शुक्रबार मात्रै उडान गर्दै आएकोमा अब अब बुधबारसमेत गरेर सातामा तीन वटा उडान हुने कम्पनीले बताएको छ ।

बुद्ध एयरले आज एक विज्ञप्ती जारी गर्दै कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यका लागि होलिडे प्याकेज ल्याएको जनाएको छ ।

‘यात्रुलाई भारतको बोधगया गई सोह्र श्राद्ध गर्न सहयोग पुग्ने उद्देश्यले उडान थप गरिएको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बुद्धको उडानबाट काठमाडौंबाट वाराणसी ५० मिनेटमा पुग्न सकिने कम्पनीले जनाएको छ । काठमाडौं– वाराणसी उडानमा एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ रहेको बुद्ध एयरले जनाएको छ । उडान समय काठमाडौंबाट ७ः १५ बजे तथा वाराणसीबाट ८ः ३० रहेको कम्पनीले बताएको छ ।

कम्पनीले २०६८ साल फागुनदेखि वराणसी उडान गर्दै आएको छ ।