राप्रपाको महाधिवेशन स्थगित


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ ।

राप्रपाका तीन अध्यक्षसहित आज बसेको बैठकले कोरोना महामारीका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“ कोभिड १९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाईस्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ ।”

तीन अध्यक्षको बैठकले पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेको राप्रपाको ठहर छ ।

कोरोना संक्रमित विरामीको उपचारमा पहल गर्न राप्रपाले सरकारलाई आग्रह गरेको छ ।

कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपाले निर्देशन दिएको छ।