खाद्यका लागि कृषि अभियानले मनायाे विश्व खाद्य दिवस २०२४, विषादीरहित कृषि प्रणाली र रैथाने खानाको प्रवर्द्धन गर्नेमा जाेड


काठमाडाैँ । ललितपुरमा खाद्यका लागि कृषि अभियान र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा विश्व खाद्य दिवस २०२४ सम्पन्न भएको छ।

कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रसायन तथा विषादी रहित खेती प्रणालीको आवश्यकता झल्काउन कार्यक्रमको आयोजनामा गरेको बताए । उनले वातावरणीय सन्तुलन कायम राख्दै साना किसान, मानव स्वास्थ्य, र पर्यावरणमैत्री खेती प्रणालीको वकालत गर्दै आएको अभियानको महत्त्वमा प्रकाश समेत पारेका थिए ।

त्यस्तै कार्यक्रममा सिल्पि थ्रिएटरसँगको सहकार्यमा ‘सट्टापट्टा’ नामक नाटक प्रस्तुत गरिएको थियो, जसमा कृत्रिम रसायन र विषादीको प्रयोगले माटो, हावा, र पानीमा परेको नकारात्मक असरको कथा थियो। नाटकका लेखक तथा निर्देशक युवराज घिमिरेले प्रदूषणबाट मानव जीवनमा परेको संकटलाई उजागर गर्दै यसका समाधानमा सबैको सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न प्रकारका रैथाने परिकारहरू प्रस्तुत गरिनुका साथै वातावरणीय कृषिका सन्देशहरू पनि प्रदर्शनीमा राखिएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले विषादी र रसायनको बढ्दो प्रयोगबाट उत्पन्न संकटलाई मध्यनजर गर्दै ‘आइ.पी.एम.’ खेती प्रणालीलाई प्रोत्साहन गर्ने रणनीति अपनाएको जानकारी दिए । उनले एकीकृत कृषि प्रणालीलाई प्रवर्द्धन गरेरमात्रै समसामयिक संकट समाधान गर्न सकिने बताउँदै सबैलाई सहयोगको अपिल गरे ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री, संसदीय दलका नेताहरू, विभिन्न दलका सचेतक, प्रतिनिधि सभाका सदस्य, वाग्मती प्रदेशका उपसभामुख, योजना आयोगका पूर्व उपाध्यक्ष, विश्वविद्यालयका पूर्व उपकुलपति, प्राध्यापक, अभियन्ता, कलाकार, लेखक, विद्यार्थी, किसान र पत्रकारलगायतको उपस्थिति थियो।