अत्यावश्यक अवस्थामा चालक अनुमति-पत्र छपाईका लागि निर्देशिका लागू


काठमाडौँ । यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा चालक अनुमति-पत्र छपाईको प्रक्रिया सुधार गर्न निर्देशिका २०८१ लागू गरेको छ। विदेश अध्ययन, रोजगारी, शान्ति मिसन, र अन्य आपतकालीन अवस्थामा परेको व्यक्तिलाई यो निर्देशिकाले सहज बनाउने विश्वास लिइएको छ।

निर्देशिका अनुसार अब अत्यावश्यक अवस्थामा परेका व्यक्तिले आफ्नो चालक अनुमति-पत्र छपाईका लागि विभागको डिजिटल पोर्टल (applydlnew.dotm.gov.np) मार्फत आवेदन दिन सक्नेछन्। आवेदनको प्रक्रिया पूर्णरूपमा डिजिटल बनाउन विभागले विशेष उपाय अवलम्बन गरेको छ। आवेदन गर्दा सम्बन्धित व्यक्तिले आफ्नो अवस्थालाई प्रमाणित गर्ने कागजात पेस गर्नुपर्नेछ।

विदेश अध्ययनका लागि आवेदन गर्दा विश्वविद्यालयको पत्र, पासपोर्ट, भिसा, र यात्रा टिकट अनिवार्य गरिएको छ। यस्तै, रोजगारीका लागि कामको अनुमति पत्र, भिसा, र पासपोर्ट अनिवार्य कागजातका रूपमा उल्लेख गरिएको छ। शान्ति मिसनमा जाने व्यक्तिले मनोनयन पत्र र सम्बन्धित निकायको पत्र प्रस्तुत गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यातायात व्यवस्था विभागले यो नयाँ प्रणालीले सेवाग्राहीलाई छिटो र पारदर्शी सेवा दिन मद्दत गर्ने विश्वास लिएको छ। डिजिटल प्रणालीमार्फत आवेदन प्रक्रिया सम्पन्न भएपछि सेवाग्राहीलाई एमपिन उपलब्ध गराइनेछ, जसको प्रयोग गरी ड्राइभिङ लाइसेन्स छपाई गरिनेछ।

विभागका अनुसार यो प्रणालीले विशेष गरी आपतकालीन अवस्थामा परेका व्यक्तिलाई राहत दिनेछ। साथै, प्रणालीको दुरुपयोग रोक्नका लागि स्पष्ट नियमहरू तोकिएका छन्। गलत विवरण पेस गर्ने सेवाग्राहीविरुद्ध कारबाही गर्ने व्यवस्था समेत गरिएको छ।