टेलिकमको समर अफर: सीयूजी अन्तर्गत ४ गुणासम्म बढी डाटा पाइने


काठमाडौं । नेपाल टेलिकमले समर अफर अन्तर्गत नयाँ र आकर्षक अफर ल्याएको छ । साउन १ गतेदेखि ल्याएको .समर अफर अन्तर्गतका नयाँ अफर ग्राहकको रोजाइमा परेको टेलिकमले जनाएको छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको र सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

टेलिकमले पहिलेदेखि नै विभिन्न भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ । कम्पनीका अनुसार नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ । २० मिनेट भ्वाइस प्याक १५ रुपैँयामा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि ४९ रुपैँयामा उपलब्ध हुने टेलिकमले उल्लेख गरेको छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि ४९ रुपैँयामा उपलब्ध गराएको छ ।

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि १५ रुपैँया, २०० एसएमएस ३ दिनको लागि २९ रुपैँया र ३०० एसएमएस २८ दिनको लागि ९८ रुपैँयामा पठाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।