‘अर्थतन्त्रलाई गतिशिल बनाउने नीति आवश्यक छ’


काठमाडौं । विभिन्न अर्थविद्हरूले अर्थतन्त्र गतिशिल बनाउने खालको नीति आवश्यक रहेको बताएका छन् ।मिडिया इन्टरनेशनल नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक अस्थिरताकै कारण आर्थिक नीतिहरू प्रभावित भएको बताए । अहिले साना व्यवसायीलाई प्रशय दिने खालका नीतिको आवश्यक रहेको उनको भनाइ छ ।

नेपालमा दिगो रूपमा काम गरी अगाडि बढ्ने स्थिति नरहेको उनले प्रष्ट पारे । उनले भने, “अहिले हरेक ठाउँका सटरहरु भाडाका लागि खाली छ भनेर लेखेको देख्न सक्छौं । यसले पनि भन्न सकिन्छ कि व्यवसायीहरू व्यवसायबाट पलायन भइसकेको अवस्था छ ।”

विकास निर्माण गाउँ केन्द्रित भएको तर गाउँका मान्छेहरू शहर केन्द्रित हुन थालेको क्षेत्रीले बताए । रेमिट्यान्सकै कारण नेपालको चालु खाता उकालो लागेको उनको भनाइ छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक केही आशावादी देखाएपनि वास्तविक हुन नसकेको उनले बताए । उनले भने, “कति उत्पादन भए, कति निर्यात भए भनेर लेखाजोखा गर्न सकिएको छैन ।”

क्षेत्रीले नेपालको वाह्य क्षेत्र मजबुद भएपनि आन्तरिक क्षेत्र भने कमजोर रहेको बताए । यहाँको उद्योग धन्दालाई प्रशय दिन नसकिएको भन्दै उनले सही किसिमबाट राजश्व संकलन भयो कि भएन भनेर हेर्न नसकिएको बताए । पूर्व गभर्नर क्षेत्रीले नेपालको आर्थिक र परराष्ट्र नीति एकापसमा मिल्न नसकेको पनि बताए । “हामी चीनमा भैँसी निर्यात गर्ने भन्दैछौं । तर भैँसी खोज्न भारत जानुपर्ने स्थिति छ,”उनले भने ।

पछिल्लो समय बैंकमा कर्जा फालाफाल भएपनि उद्यमीहरूले ऋण पाउन नसकेको गुनासाहरू आउने गरेको उनले बताए । यस्तै उनले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीतिले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने बताए । पूर्वगभर्नर क्षेत्रीले त्यसलाई सहजीकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलता राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने बताए ।

उनले कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशतजति पुगेको बताए । उनले वास्तविक तथ्यांक हेर्ने र केलाउने हो भने बैंकहरूको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको दाबी गरे । उनले भने, “पछिल्लो उद्योगी व्यवसायीहरुले कर्जा पाएनन् भन्ने छ, बैंकको खराब कर्जा बढ्दै गएको छ। कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशत जस्तो पुगेको छ‚ वास्तविक तथ्यांक हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिनमा बैंकहरु कन्जरभेटिभ छन् । केन्द्रीय बैंकले पैसा बैंकहरुबाट लिएको छ‚ प्रत्येक हप्तामा ४० अर्ब खिच्यो । यो अवस्था अर्थतन्त्रलाई गतिशील बनाउने उपयुक्त किसिमको नीति होइन ।”

यस्तै उनले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताए ।कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बैंकको ब्याजदर हेरफेर भइरहने हुँदा व्यवसायीहरु मर्कामा पर्ने गरेको बताए । अध्यक्ष पाण्डेले भने, “बैंकले कर्जा दिँदा एफडीको १४ प्रतिशत पु¥याएर दिने अवस्था छ । उद्योगी, व्यवसायीलाई बैंकहरुले सहजै रुपमा ऋण दिने व्यवस्था हुनुपर्छ ।”

जग्गा धितो नभइ बैंकहरूबाट ऋण नपाउने अवस्था रहेको भन्दै अध्यक्ष पाण्डेले भने,”जबसम्म राष्ट्र बैंकले धितो नभइ लोन दिने सिस्टम हटाउँदैन तबसम्म युवा पुस्ता यहाँ टिक्ने अवस्था छैन ।” यस्तै उनले नेपालमा रहेका व्यवसायीलाई अहिले टिकाउनै मुस्किल रहेको बताए । व्यापार विनिमय सन्तुलित हुनुपर्ने उनको भनाइ छ । डलरको भाउ बढेका कारण केही हदसम्म नेपालको पर्यटन क्षेत्र टिकेको उनले बताए ।

नेपालमा वास्तविक किसानले अनुदान नपाएको उनले बताए । सरकारले किसानलाई उत्पादन वस्तुको आम्दानी निश्चित गर्नुपर्ने उनको भनाइ छ । राज्यले भाषणमा मात्र कृषिलाई प्राथमिकता दिएको उनले बताए । उनले भने, “कृषि क्षेत्रलाई उकास्न राज्यले विशेष ध्यान दिनुपर्छ । वास्तविक किसानले अनुदान पाएका छैनन् ।” विदेशी लगानी नभइ नेपालमा पुँजी र प्रविधिक भित्रिन नसक्ने भन्दै उनले नेपालको अर्थतन्त्र उकास्न विदेशी लगानीको खाँचो रहेको बताए ।

सहकारी क्षेत्रलाई राज्यले अनुगमन र नियमन गर्न आवश्यक रहेको उनले बताए । यस्तै अध्यक्ष पाण्डेले अहिले कम्पनीहरुले १० वर्षपछि आइपीओ ल्याएर पैसा उठाउन खोजेको र झुट्टा कागज देखाएर जनतको पैसा उठाउने, लगानी गर्ने र भाग्ने अवस्था रहेको भन्दै यसलाई राज्यले रोक्नुपर्ने बताए । कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजानुपर्ने उनको भनाइ छ । नेपालमा हरेक क्षेत्रमा निराशा मात्रै रहेको भन्दै जुन देशमा व्यवसाय गर्ने वातवारण हुँदैन त्यो देश विकास सम्भव नहुने उनले बताए । देशको अर्थतन्त्र शिथिल हुँदा बैंकहरु २५, ३० प्रतिशतसम्म फाइदा लिने तर उद्योगी व्यवसायीहरु भने सँधै घाटामा जाने स्थिति रहेको उनले बताए ।

नेपाल साना तथा मझाैला व्यबसायी संघका तर्फबाट व्यबसायी धर्मनन्द श्रेष्ठले पछिल्लो समय ऋण लिएर विदेश पलायन हुने स्थिति सिर्जना भएको बताए । कार्यक्रममा बोल्दै श्रेष्ठले बैंकहरुको निष्कृय कर्जा २ खर्ब बढी रहेको र कर्जा समेत दिन नसक्ने अवस्थामा पुगेको बताए । उनले लगानी उत्पादनसँग जोडिएको पनि बताए । बैंकहरुले विश्वास दिलाउन नसक्दा कर्जा प्रवाह बढ्न नसकेको उनको भनाइ छ । उद्योगलाई चलायमान बनाउन राज्यले दिने सेवा सुविधा कस्तो मान्छेलाई दिने भन्नेमा विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले भने, “सरकारले दिने अनुदान वास्तविक किसानले पाए कि पाएनन् । पाएनन् भने किन पाएनन् । त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।”

उनले पछिल्लो समय युवाहरु विदेशिरहेको भन्दै जेष्ठ नागरिक समेत जिविकोपार्जनका लागि विदश जानुपर्ने स्थिति नआउला भन्न नसकिने बताए । राज्यले उत्पादन र उत्पादन गर्नेलाई संरक्षण सम्वद्र्धन गर्नुपर्ने उनको भनाइ छ । नेपालमा उत्पादन र आत्मनिर्भरलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । लगानीको योगदानको आधारमा अनुदान दिनुपर्ने उनले बताए । युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । बैंकको नीति व्यापार र उद्योगलाई समान रुपले हेर्दा समस्या उत्पन्न भएको उनले बताए । सरकारले देशमै लगानी गरेर पुँजी संरक्षण गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । नेपाल कृषिप्रधान देश भएपनि सरकारले किसानको आवाजलाई बेवास्ता गरेको उनको भनाइ छ । देशको समग्र अर्थतन्त्र नै रेमिट्यान्सले धानेको समेत उनले बताए ।