सिमेन्टमा ७५ प्रतिशत मूल्य वृद्धि भएको कुरामा सत्यता छैनः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री भण्डारीले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गरे । उनले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताए । ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको उनकाे भनाइ छ ।

उनले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य वृद्धि नभएको उल्लेख गरे । सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरुसँग ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको उनले बताए । उनले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको जानकारी दिए ।

निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको उनले जानकारी दिए । उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिवद्धता जनाए । सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको उनकाे भनाइ छ ।

मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुङ्गो लगाउने उल्लेख गरे ।