पाथीभरा केबलकार निर्माणः आन्दोलनरत पक्षसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग सांसद भट्टराईको माग


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधिन पाथीभरादेवी मुकुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङ जिल्लाका सांसद भट्टराईले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भएपनि शान्तिपूर्वक र सूसभ्य हुनुपर्ने बताए ।

उनले केवलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने उल्लेख गरे । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन उनले आग्रह गरेका छन् ।

उनले सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरु रिहा गरी घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गरे । केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरी सर्वपक्षिय समिति निर्माण गर्नुपर्ने उनले बताए ।

उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारवाहीलाई सहभागीतामुलक तथा पारदर्शी ढंगले अघि बढाउन माग गरेका हुन् । उनले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने बताए ।

सांसद भट्टराईले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने उल्लेख गरे । उनले रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियतका साथै स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्नेमा उल्लेख गरे ।

पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष स्थापना गर्नुपर्ने उनले बताए । सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र संवद्र्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणका साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरु अघि बढाउन माग गरे ।

संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको उनले बताए । पाथीभराको मुख्य मन्दिर भन्दा करिव ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनकाे भनाइ छ ।

उनले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले रुख तथा पोल गरेर २ हजार ११२ कटान हुने भन्दै बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता नभएको बताए ।