काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
शिक्षकहरूको पेन्सन पट्टा (निवृत्तभरण अधिकार पत्र) बनाई दिने प्रयोजनमा घुस माग गरिएको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा शाखा अधिकृत धनेश्वर प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपाने मिलेर सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
टोलीले प्रसाईलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत शाखा अधिकृत प्रसाई र कार्यालय सहयोगी अधिकारीविरुद्ध बिगो बमोजिम जरिवाना र कैद सजायको मागसहित आरोपपत्र दायर गरेको छ। त्यस्तै, बिचौलिया न्यौपानेविरुद्ध पनि सोही ऐनअनुसार कारबाहीको माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्